फिल्म ‘माग्ने राजा’ पुनः प्रदर्शनमा आउने

 

काठमाडौं, ३१ भदौ । गत भदौ ६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘माग्ने राजा’ हल सञ्चालनमा आएसँगै पुनः प्रदर्शनमा आउने भएको छ । बक्सअफिसमा राम्रो व्यापार गरिरहेको फिल्म गत सोमबार भदौ २३ गतेबाट चर्किएको जेनजी आन्दोलनका कारण सिनेमा हल बन्द भएपछि प्रदर्शन रोकिएको थियो ।

यसैबीच, यो फिल्ममा समावेश ‘नो नट अगेन’ (हाम्रो माटो हाम्रो देश) बोलको गीत समेत रिलिज गरिएको छ । यो गीतमा फिल्ममा प्रायजसो सवै कलाकारलाई स्थान दिइएको छ । सार्वजनिक गीतमा दिपक शर्माको संगीत र हर्क साउदको शब्द रचना तथा डेभिट शंकर, सविन सुवेदी र सम्राट न्यौपानेको स्वर सुन्न सकिन्छ ।

ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको फिल्मले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितीलाई ब्यंग्य गरेको छ । बिना मिहेनत पैसा कमाउन नहुने सन्देश दिने फिल्मको ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल देखिन्छ ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएका फिल्मका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । ‘इच्छा’ रिलिजको लामो समयपछि सिनेमा निर्माणमा फर्केका छन् । निर्माता घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।

नरेन्द्र मैनालीले खिचेको फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।

चलचित्रमा केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई लगायतका कलाकारहरूको अभिनय छ । जसमा आर्यन सिग्देल विशेष भूमिकामा छन् । यो चलचित्रका वितरक रोहित कट्टेलका अनुसार चलचित्र ‘माग्ने राजा’ले १२ दिनमा ४ करोड ६१ लाखको ग्रस व्यापार गरेको थियो ।

चलचित्रमा रमाइलो मात्र छैन । यसमा सन्देशमूलक कथा छ । यसले हामीलाई मनोरञ्जनात्मक शैलीमै केही सिकाउँछ । चलचित्रमा एउटा सामान्य व्यक्तिले पैसा कमाएपछि आउने उतारचढावलाई कलात्मक रुपमा श्रव्यदृश्यमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्