देशभरका कारागारहरूबाट करिब १५ हजार कैदीबन्दी फरार

काठमाडौँ, २६ भदौ । देशभरका कारागारहरूबाट करिब १५ हजार कैदीबन्दी फरार भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार देशभरका कारागारहरूबाट अहिलेसम्म १३ हजार ५ सय ७२ कैदीबन्दी फरार भएका हुन् ।
त्यसैगरी हिरासतमा रहेका ५६० जना थुनुवा पनि फरार भएका छन् । विभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका ५६० थुनुवा फरार भएका हुन् । जेजनीले गरेको प्रदर्शनका क्रममा मंगलबार तोडफोज र आगजनी गर्दै कैदीबन्दी फरार भएका हुन् ।
सुन्धारा कारागारको भद्र बन्दीगृहबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउप–प्रधान तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन् । बुधबार रायमाझीसहित करिब १ हजार जना  कैदीबन्दीहरु फरार भएका छन । कारागारबाट भागेका रायमाझी सम्पर्कमा छैनन् ।
उता,डडेल्धुरा जिल्ला कारागारबाट भागेका ३३ कैदीबन्दी पक्राउ परेका छन् । बुधबार आन्दोलन गरी डडेल्धुरास्थित कारागारबाट भागेका ८५ कैदीबन्दी मध्ये ३३ जनालाई नेपाली सेनाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।भागेका बाँकी कैदीबन्दीहरु खोज्ने क्रम जारी रहेको कारागार प्रमुख सन्तोष भट्टले जानकारी दिनुभयो । यहाँको कारागारमा १२७ जना कैदीबन्दी थिए ।
यस्तै, कञ्चनपुर कारागारबाट मङ्गलबार राति फरार भएका मध्ये हालसम्म २१ जना कैदीबन्दी फिर्ता भएका छन् ।कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागारमा कुल ४७९ कैदीबन्दी थिए ।
मङ्गलबार राति करिब तीन–चार सयको सङ्ख्यामा घरेलु हतियारसहित आएका व्यक्तिहरु कारागार प्रवेश गरी मूलगेटको ताला तोडेर कैदीबन्दीलाई भाग्न सहयोग गरेका थिए ।
“भागेका मध्ये २१ जना कारागार फर्किएका छन्,” प्रशासक जोशीले भन्नुभयो, “केही कैदीबन्दीहरू सम्पर्कमा छन् र फर्किने बताएका छन् तर कफ्र्यू आदेश जारी भएकाले फर्कन नसकेको जानकारी दिएका छन् ।”
उहाँका अनुसार हालसम्म सम्पर्कमा नआएका कैदीबन्दीहरूको खोजतलासका लागि प्रहरी परिचालन गरिएको छ । कारागारमा ४५३ पुरुष र २६ महिला गरी कुल ४७९ कैदीबन्दी थिए । जसमा सबैभन्दा बढी १६९ जना लागुऔषध सम्बन्धी मुद्दाका थिए ।
यसैबीच, जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाएको छ । सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक कैदीको मृत्यु भएको छ । सात कैदीबन्दी घाइते भएका छन् । घाइते हुनेहरु सबै पुरुष छन् । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर निस्किन थालेपछि सेनाले गोली चलाएको हो ।
घटनामा जनपथ र सशस्त्र प्रहरी बलका सात जना घाइते भएका छन् । घाइते प्रहरी सबैको अवस्था सामान्य छ । गोली लागेर घाइते भएका कैदीबन्दीलाई सेनाकै सुरक्षामा उपचारका लागि काठमाडौँ पठाइएको छ ।
मङ्गलबार नक्खु कारागारबाट पूर्व गृहमन्त्री रवी लामिछानेसहित अन्य कैदीबन्दी छाडेको भन्दै आफुहरुलाई पनि रिहा माग गर्दै कैदीबन्दीले कारागारमा आगजनी गरेका थिए ।गोली चलाउनु अघि सेनाले पानीको फोहोरा प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने कोसिस गरेका थिए । उनीहरुले सेनामाथी नै आक्रमण गर्न थालेपछि सेनाले गोली चलाएको हो । जिल्ला कारागार धादिङमा २४३ कैदीबन्दी छन् । त्यसमध्ये महिला ९ जना छन् ।
उता, यहाँको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दीलाई पक्राउ गरिएको छ । सेनाको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिनुभयो ।
बुधबार बिहान  २५३ कैदीबन्दी भागेका थिए । तीमध्ये ४० जनालाई पक्राउ गरिएको हो । बुधबार  भागेका मध्ये २१३ र हिजो भागेका १२४ गरी ३३७ जना अझै फरार रहेको उहाँले बताउनुभयो ।  भाग्नेहरू सबै पुरुष कैदी हुन् । कारागारमा जम्मा ४६९ कैदीबन्दी थिए । तीमध्ये महिला कैदीहरु भने भागेका छैनन् ।
यस्तै, कारागारमा आगजनी गरेर फरार रहेका कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन गरिएको छ । कारागारमा रहेका ६२ कैदीबन्दी मङ्गलबार राति कारागारमा आगजनी र तोडफोड गरेर भागेका थिए ।
भागेका कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । मङ्गलबार दिउँसोदेखि बन्दीगृहमा आगजनी र तोडफोड गरिरहेका कैदीबन्दीलाई सुरक्षाकर्मी घण्टौँ प्रयास गर्दा पनि रोक्न असफल भएका थिए । आन्दोलित कैदबन्दी अन्तमा राति ८ः३० बजे गेटको ताला फुटालेर भागेका हुन् ।
प्रजिअ पौडेलले भन्नुभयो, “कारागारबाट भागेका कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन गरेका छौँ, केही कैदीबन्दी हाम्रो सम्पर्कमा समेत आइसकेका छन् ।” कैदीबन्दीले कारागारमा आगजनी गर्दा जलेर नष्ट भएको छ । भागेका कैदीबन्दी पक्राउ गरे पनि उनीहरूलाई राख्न समस्या भएको प्रजिअ पौडेलले बताउनुभयो । कारागारबाट कैदीबन्दी भागेपछि आपराधिक घटना हुनसक्ने चिन्तासमेत थपिएको छ ।
यता, धुलिखेलस्थित जिल्ला कारगारमा लगाइएको आगो दुई घण्टापछि नियन्त्रणमा लिइएको छ । कारागारकै कैदीबन्दीले मध्याह्न १२ः०० बजे लगाएको आगो २ः०० बजे नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दमकल प्रयोग गरेर कारगारमा भएको आगजनी नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो । कारागारमा आगजनी गरेपछि बाहिर ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो ।
आगजनीको नेतृत्व गर्ने सागर मैनालीलगायत चार जनालाई कारागारभित्र असुरक्षित भएपछि बाहिर निकालिएको शाहले बताउनुभयो । उहाँका अनुसार हाल कारागाारमा रहेका दुई सय ८३ कैदीबन्दी सुरक्षित रहेका छन् । कारागार परिसरमा सेनासहितको सुरक्षा व्यवस्था कडा गरिएको जनाइएको छ ।
कारागारभित्र नाराजुलुस गर्दै कैदीबन्दीले बाहिर निस्कन पाउनुपर्ने माग राख्दै तोडफोड गरी आगलागी गरेको कारागार सुरक्षार्थ तैनाथ प्रहरीले बताएको छ । सोही क्रममा उनीहरुले आगजनी गरेको सुरक्षाकर्मीको भनाइ रहेको छ ।
यसैगरी, मधेशका तीनवटा कारागारबाट ९८३ कैदीबन्दी फरार भएका छन् । सप्तरीको राजविराज, महोत्तरीको जलेश्वर र रौतहटको गौर कारागारबाट उनीहरू आन्दोलन, आगजनी र तोडफोड गरी भागेका हुन् ।
मङ्गलबार राति गौर कारागारबाट फरार रहेका कैदीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले धमाधम पक्राउ गरिरहेको छ । कारागार भत्काएर भागेका १३ जना कैदीलाई बुधबार बिहान सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय ९१ कैदी रहेको सो कारागारभित्र अहिले ६१ जना छन् ।
प्रजिअ खडकाले अन्य कैदीहरूको पनि खोजीकार्य भइरहेको बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लाको सहरी क्षेत्रमा नेपाली सेना खटेपछि वातावरण शान्त बनेको छ ।
यस्तै, नेपालगञ्जको नौवस्तास्थित बाल सुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छभने अन्य सात जना घाइते भएका छन् ।
    नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो । कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बालसुधार गृहबाट ७६ जना भागेको उल्लेख गर्दै बालबिज्याईकर्ता र थुनुवालाई एकै ठाउँमा राखेका कारण यो अवस्था सृजना भएको होे ।
    झडपमा घाइते भएकाहरुलाई  नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । ती घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाइतेको जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
यस्तै, देशका विभिन्न कारागारबाट भागेका ४७ जना कैदीबन्दी र बाल सुधार गृहबाट भागेका २३ जना बालकलाई मकवानपुरबाट नियन्त्रणमा लिइएको छ । नेपाली सेना र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले दिएको जानकारीअनुसार, भीमफेदी कारागारबाट भागेका २६० जनामध्ये ४३ जनालाई भैंसे, सुपारेटार ब्यारेक र राप्ती खोला किनारबाट पक्राउ गरिएको छ ।
यसैगरी, नख्खु कारागारबाट भागेका २ जना र तनहुँबाट भागेका २ जना कैदीबन्दीलाई हेटौँडाको विभिन्न चेकपोइन्टबाट नियन्त्रणमा लिइएको छ । प्रहरीले बाल सुधार गृहबाट भागेका ७२ जनामध्ये २३ जना बालकलाई हेटौँडा–९ स्थित त्रिवेणी धामको नदी किनारबाट नियन्त्रणमा लिएको छ ।
अहिले पनि ४९ जना बालक फरार रहेका छन् । प्रवक्ता अर्यालले भागेका अन्य कैदीबन्दी र बालकको खोजी कार्य जारी रहेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्