काठमाडौँ, २६ भदौ । जेन–जी युवाहरूको समूहले अबका दिनमा देश चलाउन र निर्वाचन गर्न गठन हुने अन्तरिम सरकारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका छन् । बुधबार उनीहरूले सामाजिक सञ्जाल ’डिस्कर्ड’ मा करिब पाँच घन्टा छलफल गरेर कार्कीको नाममा सहमति गरेका हुन् ।
जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले समर्थन जनाएका छन् ।
यसैगरी, मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौँ महानगरका मेयर बालेन शाह वा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व स्वीकर्न तयार रहेको बताएका छन् । उनले बुधबार प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेको तस्बिर सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
’जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै आफू काठमाडौँ महानगरका मेयर बालेन शाह वा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की जोसुकै पनि नेतृत्व गर्न तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु,’प्रसाईँले लेखेका छन् ।
अहिलेको संवेदनशील समयमा बन्ने सरकारको अभिभावक कानुन र विधिको रक्षा गर्नसक्ने इमानदार छवि भएको व्यक्ति हुनुपर्ने भएकाले गहन विमर्शपछि कार्कीको नाम प्रस्ताव गरिएको छलफलमा सहभागी एक युवाले बताए । यसबारे कार्कीसँग पनि कुराकानी भइसकेको उनको भनाइ छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार साँझ वार्ताका लागि आह्वान गरेका थिए ।
वार्ता आह्वान भएपछि छुट्टाछुट्टै समूह जंगी अड्डा पुगेको पाइएको छ । जेन–जीहरूले
लाइभ छलफलमा सहमति गर्नुअघि नै एक समूह जंगी अड्डामा छलफल गरेर बाहिरिएको कुरा पनि त्यहाँ उठेको थियो ।
नेपाली सेनाले आन्दोलनमा सहभागी सबै पक्षसँग छलफल गर्न सहजीकरण गर्ने बताउँदै आएको छ । ’अहिलेसम्मको जानकारीअनुसार सम्बद्ध पक्ष सबैसँग बसेर परिस्थिति सहजीकरण गर्ने भन्ने हो,’ सैनिक प्रवक्ता तथा सहायक रथि राजाराम बस्नेतले भने । लोकतन्त्र कायम होस् भन्ने चाहना जेन–जी युवाहरूको भएको उनले बताए ।
आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले बिहीबार बिहान सम्पर्कमा आउन भनेको छ । जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी गरेका थिए ।
यसैगरी, नेकपा एमालेले अबको राजनीतिक निकास संविधान सम्मत र लोकतान्त्रिक विधिबाट खोज्न आग्रह गर्दै त्यसको पहल गर्न राष्ट्रपतिलाई आग्रह गरेको छ । पार्टीका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले संयुक्त आह्वान जारी गर्दै सार्थक संवादमार्फत निकास खोजिनुपर्ने बताएका छन् ।
लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर गर्नु नमिल्ने उल्लेख गर्दै उनीहरूले समाधानका प्रत्येक प्रयासले लोकतन्त्रलाई थप सुदृढ गर्नुपर्ने बताएका छन् ।
यस्तै,नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले नयाँ राजनीतिक संरचना बनाउँदा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन आह्वान गरेका छन् ।
उनीहरूले बुधबार सार्वजनिक वक्तव्य जारी गर्दै भनेका छन्, ’हामी अहिलेको पहललाई जेन–जी पुस्ताको भावना बमोजिम नै निष्कर्षमा पु¥याउन आग्रह गर्छौं । त्यसो गर्दै गर्दा ’आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाटै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुरा स्मरण गराउन चाहन्छौं ।’
’विधिविहीनताले थप अराजकता निम्त्याउँछ । त्यसैले वार्ता क्रममा राष्ट्रपतिज्यू र जेन–जी पक्षलाई हामी आग्रह गर्छौं – अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस् । संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथिति अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ,’ उनीहरूले भनेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरूले जनअपेक्षा अनुरूप काम गर्न नसकेका कारण बेथिति र भ्रष्टाचार मौलाएको विषयमा गम्भीर आत्मसमीक्षा गरिरहेको पनि दुई महामन्त्रीले बताएका छन् ।
यो विषम परिस्थितिमा वार्ता र संवादमार्फत् निकास दिन राष्ट्रपतिले लिएको पहलकदमीको स्वागत गर्दै महामन्त्रीद्वयले सबै पक्षसँग परामर्श गरी संवादबाट समाधान खोज्न आग्रह पनि गरेका छन् ।
नेपाली सेना लगायत सबै सुरक्षा निकायले शान्ति सुरक्षा कायम गर्न आ–आफ्नो स्थानबाट गरिरहेको प्रयास र संवाद प्रक्रियालाई आमनागरिक, नागरिक समाज, सञ्चार जगत, अन्तर्राष्ट्रिय समुदाय सबै तहबाट पनि साथ–सहयोगका लागि अपिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्