कृषि मन्त्री, स्वास्थ्यमन्त्री र खानेपानी मन्त्रीले दिए राजीनामा, मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालियो

 

काठमाडौं, २४ भदौ । सरकारको कदमको बिरोध गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, स्वास्थ्यमन्त्री प्रदीप पौडेलले र खानेपानी मन्त्री प्रदीप यादवले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै भाद्र २३ गते भएको ‘अलोकतान्त्रिक कदम’ र दमनको विरोधमा राजीनामा दिएको बताउनु भएको हो ।

उहाँले सरकारको कदमले आफूलाई ‘अपराधबोध’ भएको र ‘नैतिकताको खिलाफ’ भएकाले पदमा बसिरहन नसक्ने जानकारी दिनु भएको छ ।
यस्तै, स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने परिस्थिति बनाउनु भएको छ । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उहाँले राजीनामा दिने बताउनु भएको हो ।

यसैगरी,खानेपानी मन्त्री प्रदीप यादवले राजीनामा दिनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उहाँले राजीनामा दिएको जानकारी गराउनु भएको हो ।

यसैगरी, नेपाली कांग्रेसबाट युवा तथा खेलकुद मन्त्री भएका तेजुलाल चौधरीले पनि पदबाट राजीनामा दिनु भएको छ । चौधरीले मंगलबार दिउँसो पदबाट राजीनामा दिनु भएको हो ।

यसैगरी, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति निकालेर नेकपा (एमाले) सँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको घोषणा गर्नु भएको छ ।

उहाँहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गर्नु भएको छ भने पार्टी सभापति देउवालाई सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउन आग्रह गर्नु भएको छ । सभापति देउवाले यो आग्रह नमाने अन्य प्रक्रियाबाट कदम चालेर निर्णय लिन बाध्य हुने उहाँहरूले चेतावनी दिएका छन् ।

यसैबीच, मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीहरूलाई मंगलबार दिउँसो सुरक्षित स्थानमा लगिएको हो । मन्त्रीहरूलाई काठमाडौं भ्यालीभित्रै सुरक्षित स्थानमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्