काठमाडौं, २४ भदौ । जेनजीको आन्दोलनमा सरकारको आतताही रवैयाको कारण मुलुक अहिले रणभुमीमा परिणत भएको छ । सरकारको दमनका कारण सोमबार १९ जनाको ज्यान गएको छ । मंगलबार पुनः देशभर प्रदर्शन चर्किएको छ ।
काठमाडौँ उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थानमा कफ्र्यु आदेश जारी गरिएको छ । जेनजीको आन्दोलनलाई लक्षित गर्दै तीनै जिल्लाले कफ्र्यु आदेश जारी गरेको हो । हिजोको जेनजी आन्दोलनमा सरकारले दमन गरेपछि मंगलबार बिहानैदेखि काठमाडौँ लगायताका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन भइरहेको छ ।
आन्दोलनकारीहरुले नेता निवास र सरकारी कार्यालयहरुलाई निसाना बनाइरहेका छन् ।ललितपुरको मन्त्री क्वार्टरमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरुले भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओली निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन । प्रदर्शनकारीले तोडफोडमा उत्रिँदा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेका थिए । त्यसक्रममा पछि बालकोट निवासमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।
प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगजनी गरेका छन् । मंगलबार मध्याह्न काठमाडौं महानगरपालिका–१६ बोहराटारस्थित राष्ट्रपति पौडेल निवासमा आगजनी भएको हो ।
निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन् । उनीहरूले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी गरेका हुन् ।
ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् ।
पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरुले दहचोकस्थित पुनको घरमा आगजनी गरेका छन् ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।
प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।
ऊर्जामन्त्री दीपक खड्काको घरमा आगजनी भएको छ । आक्रोशित प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित मन्त्री खड्काको घरमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आगजनी भएको छ ।
प्रदर्शनकारीहरूले मंगलबार मध्याह्न कांग्रेस कार्यालयमा आगजनी गरेका हुन् । ढुंगामुढा गरेर झ्यालका सिसा तोडफोड गर्दै उनीहरूले आगजनी गरेका थिए ।
यता, काठमाडौंको कीर्तिपुर नगरपालिकाको भवनमा पनि आगजनी गरेको छ । मंगलबार भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीले कीर्तिपुर नगरको भवनमा आगजनी गरेका हुन् ।
यस्तै, ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले मंगलबार बिहान स्कुलमा आगजनी गरेको हो ।
ललितपुर प्रहरीका अनुसार दमकल त्यसतर्फ गएपनि प्रदर्शनकारीले फर्काएका छन् । युलेन्स स्कुल परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको हो ।
कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. देउवाको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् ।
धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको मन्त्री आरजुको घरमा प्रदर्शनकारीहरूले आगजनी गरिदिएका हुन् ।
उता, प्रदर्शनकारीले सर्लाहीमा नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका छन् । सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।
सोमबार जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा कार्यालयमा आगजनी गरिएको हो ।
उता, झापा बिर्तामोडस्थित नेकपा एमालेको पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । मंगलबार बिहान पार्टी कायालयमा आगजनी भएको हो । प्रदर्शनकारीहरूले ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् ।
यस्तै,रौतहटको चन्द्रपुर नगरपालिकामा आन्दोलनकारीले आगजनी गरेका छन् ।
यसैगरी, जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार भएको छ । मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका हुन् । उनीहरू अहिले पनि प्रदर्शनमा उत्रिएका छन् ।
उता,सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् ।
यसैगरी, जेनजी पुस्ताका प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा आगो लगाएका छन् । महानगरको बन्द गेट फोडेर उनीहरूले महानगरको कार्यालयमा आगो लगाएका हुन् । आगलागीका साथै उनीहरूले महानगरपालिकाको कार्यालयमा तोडफोडसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्