काठमाडौँ, २३ भदौ । लुम्बिनी लाभाजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा पहिलो जित भएको छ । लुम्बिनीले रोमाञ्चक खेलको चौथो सेटमा म्याच प्वाइन्ट जोगाउँदै पोखरा निन्जाजलाई ३–२ ले पछि पार्दै जित हासिल गरेको छ ।
पोखराको बहुउद्देश्यीय कभर्ड हलमा भएको दिनको दोस्रो खेलमा लुम्बिनीले उत्कृष्ट सुरूवात गर्यो । पोखरालाई निरीह बनाउँदै २५–१३ ले पहिलो सेट जित्दै १–० को अग्रता बनायो। तर यो लयलाई लुम्बिनीले गुमाउँदा पोखराले उत्कृष्ट कमब्याक गर्यो ।
पोखराको भने यो लगातार तेस्रो हार हो । दोस्रो सेट २५–२३ ले जित्दै पोखराले खेललाई १–१ को बराबरीमा पुग्यो । तेस्रो सेटमा भने लुम्बिनीले झनै कमजोर प्रदर्शन गर्यो । सहजै २५–१० ले तेस्रो सेट पोखराले आफ्नो पक्षमा पार्यो । खेलमा पोखराले २–१ को अग्रता बनायो ।
यसपछि चौथो सेट भने निकै रोमाञ्चक बन्यो । यो सेटमा २३–२० को अग्रतासँगै पोखराले सेट प्वाइन्ट समेत गुमायो । लुम्बिनीले २८–२६ ले चौथो सेट जितेर खेललाई २–२ को बराबरीमा पुर्यायो । खेलको निर्णय पाँचौं सेटबाट भयो। पाँचौ सेटमा लुम्बिनीले ४–० को आरामदायी अग्रता बनायो ।
पोखराले ५–६ को स्थिति सम्म खेललाई ल्यायो । तर यसपछि भने लुम्बिनीले पोखरालाई मौका दिएन । १५–१० ले पाँचौं सेट जित्दै लुम्बिनीले पहिलो जित दर्ज गर्यो। जारी लिगमा पाँचौं सेटबाट खेलको निर्णय भएको यो पहिलो पटक हो ।
यो जितमा लुम्बिनीले २ खेलबाट २ अंक जोडेको छ । पोखराले भने ३ खेलबाट १ अंक बनायो। आज भएको पहिलो खेलमा काठमाडौं स्पाईकर्सले मधेश युनाइटेडलाई ३–१ को सेटमा हराउँदै ३ अंक जोडेको थियो ।
आज (सोमबार) दुई खेल हुनेछ । पहिलो खेल काठमाडौं स्पाइकर्सले कर्णाली यश्विचको हुनेछ । दोस्रो खेलमा ललितपुर क्विन्स र लुम्बिनी लाभाजबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्