फिल्म ‘जुबा’ बाट अभिनेत्रीको रूपमा सोफी धरेल डेब्यु गर्दै

काठमाडौँ, २२ भदौ । फिल्म ‘जुबा’बाट अभिनेत्रीको रूपमा सोफी धरेल डेब्यु गर्दैछिन् । अभिनेता सौगात मल्लको मुख्य भूमिकामा फिल्म ‘जुबा’ बन्ने भएको हो । प्रकाश कर्णको लेखन तथा निर्देशनमा निर्माण हुन फिल्मको बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको हो ।
वर्षा पौडेलको पटकथा लेखन रहेको यो फिल्मबाट अभिनेत्रीको रूपमा सोफी धरेल डेब्यु गर्न लागेकी हुन । सुधन पोखरेलको पनि फिल्ममा अभिनय रहने निर्माण घोषणा कार्यक्रममा जानकारी गराइयो । अभिनयको हिसाबले सुधनको यो तेस्रो फिल्म हुनेछ ।
रक क्यास्टर स्टुडियोको ब्यानरमा निर्माण हुन लागेका फिल्मको घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ । पहिलो पोस्टरमा सौगात क्यामेराको अगाडि घुँडा टेकेर प्रार्थना गरिरहेका देखिन्छन्, जसले फिल्ममा उनी अभिनेताको भूमिकामा देखिन लागेको संकेत गर्छ ।
दोस्रो पोस्टरमा सौगातलाई पिसिओ (टेलिफोन बुथ)भित्र फोन गर्दै गरेको देखाइएको छ भने त्यसको बाहिर सोफी रिसाएको भावमा उभिएकी छन् । तेस्रो पोस्टरमा भने सुधन पोखरेललाई खलनायकको रूपमा प्रस्तुत गरिएको छ । यी तीन पोस्टर हेर्दा सिनेमाको कथा दुई दशकअघिको समय सन्दर्भमा आधारित रहेको अनुमान गर्न सकिन्छ ।
अस्त्र फिल्मस्को प्रस्तुतिमा निर्माण हुने सिनेमा क्रिएटिभ निर्मातामा निर्देशक कर्ण र पटकथा लेखक वर्षा दुवै छन् । फिल्मको कथावस्तु, अन्य कलाकार तथा प्राविधिक पक्षबारेमा भने निर्माण टिमले केही पनि खुलाएको छैन् ।

प्रतिक्रिया दिनुहोस्