लभ स्टोरी फिल्म ‘प्रेमगीता’को टिजर सार्वजनिक

काठमाडौँ, १९ भदौ । लभ स्टोरी फिल्म ‘प्रेमगीता’को टिजर सार्वजनिक भएको छ । मंगलबार फिल्मको निर्माण टिमले १ मिनेट ११ सेकेण्ड लामो टिजर सार्वजनिक गरेको हो ।
राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण भएको फिल्मको टिजरमा सिनेमाका मुख्य कलाकार जाहन्वी बस्नेत, साजिद खान, सुशिल पोखरेल लगायतलाई देख्न सकिन्छ ।
सार्वजनिक टिजरमा लभ स्टोरी, बिछोड र एक्सन देखिन्छ ।
समसायिक कथामा आधारित सिनेमाको टिजरले केही कथा रहस्य रहेको खुलाउन खोजेको छ । यो सिनेमामा प्रेमपछिको विछोडको कुरालाई उठाउन खोजेको हो की भन्ने बुझ्न सकिन्छ ।
ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालि व्यानरमा निर्माण भएको सिनेमामा आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीको अभिनय रहेको छ ।
साजिद खान प्रस्तुतकर्ता रहेको सिनेमामा अयाज अलि खान निर्माता छन् । विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको सिनेमामा मौनता श्रेष्ठको लेखन, रामेश्वर हुँमागाईको छायांकन, भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी छ । निर्देशक बस्नेतले यही सिनेमा मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् । यो सिनेमा आगामी माघ २३ गते बाट प्रदर्शनमा आउँदैछ ।
यसैगरी, निर्देशक दिनेश राउतको निर्देशनमा तयार हुनेभएको फिल्म ‘कुमारी’को छायाङ्कन सुरू भएको छ । मंगलबार ललितपुरस्थित बङ्गलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्र छायाङ्कन सुरू गरिएको निर्देशक राउतले जानकारी दिएका छन ।
उनले ३५ दिनमा उक्त चलचित्रको छायाङ्कन सकाउने तयारीका साथ काम गरिरहेको बताए । उनले भने, “केही समयको अन्तरालमा पुनःप्रेमकथानक चलचित्रलाई ठूलो पर्दामा ल्याउँदैछु ।
यसपटक नयाँ पुस्ताको कथालाई दर्शकले देख्न पाउनुहुनेछ । प्रेम कथा भएकाले यो साङ्गीतिक पनि हुनेछ ।” उनले यस चलचित्रमार्फत नयाँ अनुहारहरू अभिषेक खड्का र आकृति राजभण्डारीलाई अभिनय गराउँदै छन ।
फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनिषा शर्मालगायतको अभिनय रहनेछ । विनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भइरहेको उक्त फिल्म को पटकथा विकास सुवेदीले लेखेका हुन ।

प्रतिक्रिया दिनुहोस्