काठमाडौँ, १६ भदौ । निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौँ चक्रपथमा स्कुल बसको र्याली प्रदर्शन गरेका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौँ उपत्यकाको चक्रपथमा र्याली निकालेका हुन् ।
चक्रपथको एक लेनमा निजी विद्यालयका बसको लाइन देखिएको छ । विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन माग गर्दै उनीहरू आन्दोलित भएका हुन् ।
शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिइरहेका छन् । केही दिनअघि पनि प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले सडकमा स्कुल बस निकालेर विरोध जनाएका थिए ।
उनीहरूले आज बिहान ११ बजेदेखि देशभरका विद्यालयहरूका सवारीसाधनमा कालो ब्यानर टाँसी विद्यालय नजिकैका चोकमा उतारेका छन् । साथै, प्रतिघण्टा २० किमीको गतिमा विस्तारै नगर परिक्रमा गर्ने बताएका छन् ।
काठमाडौं उपत्यकाभित्र सम्पूर्ण विद्यालयका सवारी साधनहरूले २७ किमि चक्रपथ वरिपरि कालो व्यानरसहित परिक्रमा गर्नेछन् । आज नै दिउँसो १२स्३० बजे माइतीघर मण्डलामा भेला भई संघीय संसद् घेराउ गर्ने कार्यक्रम रहेको प्याब्सनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्