बिओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार

भीमदत्तनगर, १६ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बल नेपालको जिमुवा बोर्डर आउट पोष्ट (बिओपी) स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण गरिएको छ ।
सीमा निगरानीका लागि विसं २०७७ असोजमा स्थापना भएको उक्त बिओपीमा आवास, अतिथि गृहसहितका पूर्वाधार निर्माण गरिएको हो ।  सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षको योजनाअन्तर्गत निर्माण गरेको अतिथि गृह भवनको आइतबार उद्घाटन गरिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले अतिथि गृह भवनको उद्घाटन गर्नुभयो ।
अतिथि गृह भवनको उद्घाटन गदैँ मन्त्री सार्कीले मन्त्रालयले बिओपीमा पूर्वाधार सुधार गर्ने योजनाअन्तर्गत भवन निर्माण गरिएको बताउनुभयो । उहाँले बिओपीमा पूर्वाधार नहँुदा सीमा सुरक्षार्थ खटिएका प्रहरीले आफैँ सुरक्षित हुने अवस्था नरहेकाले प्रदेश सरकारले प्राथमिकताका साथ पूर्वाधार निर्माण गरिरहेको बताउनुभयो ।
साथै उहाँले प्रदेश सरकारले प्रहरीलाई सुरक्षा र विपद् उद्धारका लागि आवश्यक सामग्री प्रदेशभर वितरण गरेको जानकारी दिनुभयो । पूर्वाधार निर्माणले सशस्त्र प्रहरी आवास व्यवस्थापनमा सहज हुने बताउँदै उहाँले सीमा निगरानी, अवैध ओसारपोसार नियन्त्रण र राजस्व छली नियन्त्रणमा सक्रियताका साथ काम गर्न उहाँले निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरी बलको सुदूरपश्चिम प्रमुख प्रदीपकुमार पालले पूर्वाधार निर्माणले प्रहरीको सेवा प्रवाहमा सहज हुने बताउनुभयो । उहाँले स्रोतसाधनको अभावमा प्रहरीले सेवा प्रदान गरिरहेको बताउँदै सबै बिओपीमा आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो ।
प्रदेश सरकारद्वारा विनियोजित रु ४० लाख बजेटमा रु २९ लाख ७३ हजारमा ठेक्का सम्झौता भई अतिथि गृह निर्माण गरिएको मन्त्रालयका निमित्त सचिव आमोद दहालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा थप तीन वटा बिओपीहरुमा पूर्वाधार निर्माण गर्ने प्रदेश सरकारको योजना छ । जिमुवामा गत वर्षको सङ्घीय योजनाअन्तर्गत दुई वटा प्रहरी ब्यारेक भवनको  निर्माण सम्पन्न भएको छ । जिमुवा क्षेत्रको दुर्गम टोल श्रीलङ्कामा रहेको बिओपी यसअघि खानेपानी कार्यालयको भवनमा बस्दै आएको थियो ।
वर्षाद्को समयमा बाढीको उच्च जोखिम रहेको यस क्षेत्रमा भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुनेछ । त्यसैगरी शनिबार मात्रै बेलौरीको खड्डाकंकडमा रहेको बिओपी भवनको मन्त्री सार्कीले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्