अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मधेस प्रदेशको जिल्ला भेला सम्पन्न

काठमाडौ, १६, भदौ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मधेश प्रदेश सम्पर्क समन्वय समितिको प्रथम जिल्ला भेला राजधानी काठमाडौँको मिनभवनस्थित थाहा हलमा सम्पन्न भएको छ।

समितिकी अध्यक्ष उषा काफ्लेको अध्यक्षतामा सम्पन्न भेलामा मधेश प्रदेशका आठै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

“भेलाले राष्ट्रिय सम्मेलनका लागि आठै जिल्लाबाट प्रतिनिधि चयन गर्ने कार्य सम्पन्न गरेको छ ।” अध्यक्ष काफ्लेले भनिन् ।

अध्यक्षको जिम्मेवारी पाएको दुई महिना नबित्दै आठै जिल्लामा संगठन विस्तार गर्न कठिन भए पनि सफल भएको भन्दै उनले सन्तोष व्यक्त गरिन । मधेशका महिलालाई एकीकृत गर्दै सशक्त बनाउन निरन्तर लागिरहने उनले प्रतिवद्धता प्रकट गरेकी छन् ।

प्रमुख अतिथि रहेकी फ्राक्सन इन्चार्ज एवम् नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य शशि श्रेष्ठले मधेशमा महिलाको सक्रिय सहभागिता देख्दा खुसी लागेको बताउँदै भनिन्, “महिलाले आफ्नो हकहित र अधिकारका लागि साहसिक कदम चाल्नुपर्छ। यस अभियानमा सबै महिलाको ऐक्यबद्धता जरुरी छ।”

त्यसैगरी, विशिष्ट अतिथि राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले भविष्यमा हुने विभिन्न आन्दोलन, महिला हिंसा विरुद्धका कार्यक्रम र आगामी निर्वाचनमा समेत महिलाले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरिन ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य श्रीकृष्ण अधिकारी (विवेक), त्यसैगरी नेताहरु शिवराम यादव, घनश्याम प्रसाद रजक, प्रतिमा गहतराज, विजय ढकाल, सुनैना सिंहसहित सम्पर्क समन्वय समितिका इन्चार्ज, अध्यक्ष तथा जिल्ला प्रतिनिधिहरू सहभागी थिए।

भेलालाई सहभागीहरूले मधेशका महिलालाई सशक्त बनाउँदै अधिकार र समानताका लागि आवाज बुलन्द गर्ने अवसरको रूपमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्