काठमाडौं,२५ साउन । करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा हुने कराते विश्व च्याम्पियनसिपका लागि छनोट हुनुभएको छ ।
विश्व कराते महासंघले नेपाल कराते महासंघलाई पत्र पठाउँदै नेपालकी सानुमाया आगामी विश्व च्याम्पियनसिपका लागि छनोट भएको जनाएको हो । आगामी नोभेम्बर २७ देखि ३० तारिखसम्म इजिप्टको काइरो शहरमा कराते विश्व च्याम्पियन आयोजना हुँदैछ । उक्त च्याम्पियनसिपका सानुमाया छनोट भएकी हुन् । विश्व वरीयताको आधारमा उनी छनोट भएकी हुन् ।
नेपाली कराते टोलीका काता प्रशिक्षक मन्डेकाजी श्रेष्ठ रह्नु भएको छ । उहाँ १३औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक विजेता हुनुहुन्छ ।
गत मेमा उज्वेकिस्तानमा भएको एसियन च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा सानुमायाले यो सफलता पाएकी हुन् । छनोट भएर नेपाली खेलाडीले पहिलो पटक विश्व च्याम्पियनसिप खेल्ने पाउने भएको छ ।
यसैगरी, गोर्खा खुकुरी मार्सल आट्र्स संघको आयोजनामा ८ स्वर्ण, ४ रजत र १ कास्य पदकका साथ दुबई शाखा टोखा च्याम्पियन भएको छ । टोखामा भएको अन्तर टोखा र तारकेश्वर नगरबीच शनिवार भएको प्रतियोगितामा १ सय ५० खेलाडीको सहभागिता रहेको थियो । महिला २०–२५ केजीमा आयुष्मा स्याङतान,२६–३० केजी निमिता शाही, ३०–३५ केजी रेशु तामाङ, ३१– ३५ केजीमा रक्षा सापकोटा, ३६–४० केजी झरना संज्याल, ४६–५० केजी पूजा संज्याल, ५१–५५ केजी अस्मिता शाह विजयी हुनुभएको छ ।
पुरुष २०–२५ केजी स्वयम पोखरेल, २६–३० केजीमा पवन गुरुङ, ३१–३५ केजीमा प्रेम नगरकोटी, ३६–४० केजीमा साजन छन्त्याल, ४१–४५ केजीमा समित आर्गियो, ४६– ५० केजीमा विवेक परियार, ५१–५५ केजीमा सुदीन गौतम, ६१–६५ केजीमा पुष्कर रोकाया विजयी हुनुभएको छ ।
महिलातर्फ पूजा सन्ज्याल,रविना लामा, सुप्रिमा धामी उत्कृष्ट घोषित भएका छन् भने पुरुषतर्फ पुष्कर रोकाया, निराजन बोहोरा, युवराज खड्का, प्रेम नगरकोटी र राजकुमार तामाङ उत्कृष्ट भएका छन् ।
यसैगरी, नेपाल कराते महासंघको आयोजनामा ५७ औँ राष्ट्रिय कराते प्रतियोगिता दोलखाको चरिकोटमा हुने भएको छ । महासंघको बिहीवार बसेको बैठकले राष्ट्रिय प्रतियोगिता
भदौको अन्तिम वा असोजको पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै महासंघले रिक्त महासंघमा कृष्ण गौतमदलाई नियुक्त गरेको छ । तत्कालीन कोषाध्यक्ष किशोर भट्टराई र सदस्य गोपाल महर्जनको राजीनामा स्वीकृत गरेको छ ।
महासंघले अबदेखि दक्षिण एसियन कराते महासंघ (क्याडेट, जुनियर २१, सिनियर), एसियाली कराते महासंघ तथा विश्व कराते महासंघले आयोजना गर्ने सिनियर च्याम्पियनसिपमा सहभागी हुने खेलाडीका लागि भिसा शुल्क, दर्ता शुल्क, आवास तथा बसोबासको व्यवस्था महासंघले गर्ने र हवाई टिकटको खर्च सहभागी बेहोर्ने निर्णय गरेको छ । यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीले आधा र महासंघले आधा बेहोर्दै आएको थियो ।
महासंघको विधान विपरीत कार्य गरेको पुष्टि भएकाले प्रशिक्षक प्रभाकर राणा र प्रविण राणालाई महासंघका कुनै पनि कार्यक्रम वा गतिविधिमा सहभागी हुन प्रतिबन्ध लगाउने निर्णय गरेको महासंघले जनाएको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद विकास ऐन २०७७ विपरीत कराते महासंघलाई विघटन तथा पुनःगठन गर्ने कार्य गरेको देखिएले त्यो कार्य ऐनअनुसार नभएको भनी राष्ट्रिय खेलकुद परिषद्को ध्यानाकर्षण गराउने निर्णय पनि महासंघले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्