आफ्ना गीतहरू बल्ल प्रयोग गर्न पाउने भएँः गायक अनिल सिंह

काठमाडौँ, १५ साउनः गायक अनिल सिंहले आफ्ना पुराना एवम् लोकप्रिय गीतसङ्गीतलाई नयाँ स्वरूपमा ल्याउने बताउनुभएको छ ।

आफैँले सिर्जना गरेको गीतहरूमा श्रव्यदृश्य उत्पादन गरिएका कम्पनिमार्फत ‘कपीराइट’ लगाइएपछि त्यसविरुद्ध चर्को आवाज उठाइ सङ्घर्ष गरिरहनुभएका गायक सिंहले हालै ‘म्युजिक डटकम’सँग आफ्ना गीतको ‘कपीराइट’ र ‘रोयल्टी’ का विषयमा सम्झौता गर्नुभएको छ ।

उक्त सम्झौतापछि उहाँले आफ्ना गीतहरूको ‘अडियो’ आफूले चाहेको अवस्थामा प्रयोग गर्नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“मैले तयार गरेको अडियोहरू म आफैँले प्रयोग गर्न नपाउँदाको पीडालाई शब्दमा कसरी बयान गरूँ । मैले श्रव्यदृश्य निर्माणका लागि ती गीतहरू दिएकोे थिएँ, तर अहिले म आफैँले ती गीत प्रयोग गर्न नपाएपछि आवाज उठाएको हुँ । यसमा पहिलो सफलता प्राप्त भएको छ, हाम्रो सङ्घर्ष अझैँ जारी छ ।”

सम्झौता अगाडि उहाँले आफैँ गीत गाउँदा आफ्ना ‘फेसबुक, इन्स्टाग्राम र युट्यूव’ च्यानललगायतका सामाजिक सञ्जालमा ‘कपीराइट हानेर उडाइदिए’को बताउनुभयो । एउटा सर्जकले तयार गरेको सिर्जनालाई प्रयोग गर्न नपाउँदा आफूले विभिन्न समस्या झेलेको उहाँले बताउनुभयो ।

“यो मेरो सफलता होइन, अब उप्रान्त अन्य सङ्गीतकर्मीले पनि मैले जस्तै सम्झौता गर्दै आफ्नो सिर्जनालाई निर्वाध रूपमा प्रयोग गर्न पाउनुहुनेछ । अन्य केही सङ्गीत उत्पादक कम्पनिसँग हाम्रो सङ्घर्ष भने जारी नै छ । सफलताको एउटा खुड्किलो पार गरेको छु, आफ्नो अधिकारका लागि सङघर्ष छाड्दिन,”उहाँले भन्नुभयो ।

गायक सिंहले अब पुराना गीतलाई नयाँ श्रव्यदृश्य वा स्वरूपमा ल्याउने समेत बताउनुभयो । उहाँका अनुसार अब ‘म्युजिक डटकम’सँग रहेका श्रव्यदृश्यको ‘रोयल्टी’ पनि उहाँले पाउनुहुनेछ । म्युजिक डटकम र गायक सिंहबीच म्युजिक नेपालबाट प्राप्त ‘रोयल्टी’ आधाआधा बाँड्ने सम्झौता भएको छ ।

आफ्ना गीतसङ््गीत आफैँले प्रयोग गर्न पाउने अधिकारका लागि सङ्घर्ष जारी राखेता पनि साङ्गीतिक कार्यक्रममा उपस्थिति बढाउने गायक सिंहले स्प्ष्ट गर्नुभयो । उहाँले गाउनुभएको ‘इन्जिन गाडीमा’, ‘आइ लभ यू’, ‘प्रेम पत्र’, ‘घिन्ताङ’, ‘विल यु म्यारी मी’जस्ता गीतहरू लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्