नगर प्रमुख कुशवाहाको प्रधानमन्त्रीलाई खुला पत्र

सर्लाही, ११ साउन । देशको समृद्धि र अन्न भण्डारको रुपमा चिनिने तराई–मधेश आज एक भयावह प्राकृतिक संकटको चपेटामा छ । बलरा नगरपालिका, सर्लाहीका नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खुला पत्र लेख्नु भएको छ । तराई सुकिरहेको छ, सरकार अब घोषणा मात्र होइन, पानी र राहत चाहिएको छ । साउन महिनाको अन्त्यतिर पुग्दासमेत वर्षा नभएपछि तराईका इनार, ट्युबवेल, कुँवा सुक्दै गएका छन् । खेतबारीमा अन्न अंकुरिन सकेको छैन । जनस्वास्थ्यमा संकट देखिन थालेको छ । नगर प्रमुख कुशवाहाले यो अवस्थालाई सुख्खा विपत्तिको रुपमा व्याख्या गर्दै सरकारसँग तुरुन्त व्यवहारिक कदम चाल्न आग्रह गर्नुभएको छ । उहाँले पत्रमा लेख्नु भएको छ, मधेसमा वर्षा नहुँदा प्यासले छटपटिएका जनता, बञ्जर खेत र सुकिरहेका जलका स्रोतहरु केवल मौसमको असहजता होइन, यो पूर्णरूपमा प्राकृतिक आपत हो ।
नगर प्रमुख कुशवाहाका पाँच प्रमुख मागहरु
१. तत्काल राहत घोषणा : सुख्खाबाट प्रभावित क्षेत्रलाई लक्षित गर्दै तुरुन्त राहत कार्यक्रम लागू गर्नुपर्ने ।
२. निःशुल्क पानी वितरण केन्द्र : पिउनलाई समेत पानी अभाव भएको अवस्थामा प्रत्येक वडामा पानी वितरण केन्द्र स्थापना गरिनुपर्ने ।
३. खडेरी राहत कोष : विपन्न र दैनिक श्रमिक परिवारलाई लक्षित गर्दै खडेरी राहत कोषबाट आर्थिक सहायता उपलब्ध गराउने ।
४. आपतकालीन सिंचाइ उपाय : ट्यांकर, वैकल्पिक जलस्रोत र सिँचाइ साधनमा आपतकालीन रणनीति अवलम्बन गर्नुपर्ने ।
५. मोबाइल स्वास्थ्य टोली : जनस्वास्थ्य संकट न्यूनीकरण गर्न स्वास्थ्य टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गर्नुपर्ने ।

“मधेश कहिले सुक्छ, कहिले बग्छ – कसरी जिउँने ?”
पत्रमा नगर प्रमुखले विगत वर्षहरूमा मधेसले झेलेका बाढी, शीतलहर र हालको सुख्खा संकटबारे स्मरण गराउँदै लेख्नु भएको छ :
मधेसमा शीतलहर आउँदा मरिन्छ, बाढी आउँदा बगिन्छ, र अहिले वषा नहुँदा सुक्छ । यस्ता समस्या पटक–पटक दोहोरिए पनि स्थायी समाधानतर्फ राज्यको ध्यान पुग्न नसक्नु दुःखद भएको उहाँको भनाई छ । नगर प्रमुख कुशवाहाले सरकारको समावेशिता, सामाजिक न्याय र संवेदनशील नेतृत्वमा विश्वास व्यक्त गर्दै भन्नु भएको छ, यो गुनासो होइन, जनताको आवाज हो । उहाँले सरकारसँग कागजी घोषणा मात्र होइन, ठोस र तत्क्षण कार्यान्वयनको अपेक्षा गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्