काठमाडौं, ९ साउन । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण नोभेम्बरमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
(एनपिएल)को लागि काठमाडौं गोर्खाजले नाम र लोगो परिवर्तन गरेको छ । काठमाडौं स्पोट्र्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गोर्खाजले गत वर्ष ’काठमान्डु गुर्खाज’ नाममा खेलेको थियो ।
नयाँ लोगोमा काठमाडौंको संस्कृतिको प्रतिनिधित्व गर्ने टोलीको भनाइ छ । नेपाल प्रिमियर लिगमा सबै प्रदेशमा १–१ वटा टोली छन् ।
बागमती प्रदेशमा काठमाडौं र चितवन राइनोज गरी दुई वटा फ्रेन्चाइज छन् । यहाँको क्रिकेट गतिविधि काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट गरी चार जिल्लामा केन्द्रित गरेर हुन्छ । मुख्य गरी काठमाडौं उपत्यकाको सम्पन्नतालाई टोलीले प्रतिनिधित्व गर्ने भनाइ छ ।
काठमाडौंको हस्पिटालिटी पार्टनरको रुपमा रोयल टुलिप काठमाडौं रहेको छ । एनपिएल–२ को दौरान काठमाडौं गोर्खाज रोयल टुलिप काठमाडौंमै बस्नेछ ।
काठमाडौं गोर्खाजबाट प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी र रोयल टुलिप काठमाडौंका जनरल म्यानेजर बलराम पाठकले हस्ताक्षर गरेका छन् ।
काठमाडौं गोर्खाजले वल्र्ड लिन्क प्रमुख प्रायोजक रुपमा सम्झौता गरिसकेको छ । सम्झौताअनुसार काठमाडौं गोर्खाज अब टोली जर्सीमा वल्र्ड लिन्कको लोगो राखेर एनपिएलमा खेल्ने छ ।
काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुपम स्वाँर सिरोहिया र वल्र्ड लिन्कका कार्यकारी निर्देशक मनोज अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
यसअघि मोन्टी देसाईलाई काठमाडौं गोर्खाजले आफ्नो मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । मोन्टी २०२३ को फेब्रुअरीदेखि २ वर्ष नेपालको प्रशिक्षक रहेका थिए ।
यहि क्रममा नेपालले विश्वकप लिग २ का १२ खेलमा ११ खेल जित्दै २०२३ को एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो । मोन्टीकै प्रशिक्षणमा नेपालले १० वर्षपछि टी–२० विश्वकपमा पुनरागमन गरेको थियो ।
मोन्टीलाई साथ दिन प्रशिक्षकमा बसन्त शाही, टेक्निकल एनालिस्टमा सुरज शाक्य र फिजियोमा पुरन तिरुवालाई निरन्तरता दिइएको छ ।
काठमाडौं गोर्खाजले एनपिएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसीसहित भीम शार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र प्रतिक श्रेष्ठलाई ’रिटेन’ गरेको थियो ।
गत पुसमा सम्पन्न पहिलो संस्करणक फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि जितेको थियोे ।
प्रतिक्रिया दिनुहोस्