नवलपुर र कैलालीमा चैते धान उत्पादनमा बृद्धि

नवलपुर (नवलपरासी), ७ साउन ÷ राससः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चैते धानको उत्पादनमा वृद्धि भएको छ । नवलपुरमा चैते धानको उत्पादकत्व बढेर आर्थिक वर्ष २०८१÷८२ मा प्रतिहेक्टर छ दशमलव तीन मेट्रिक टन पुगेको छ । आर्थिक वर्ष २०८०÷८१ मा जिल्लामा चैते धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव नौ मेट्रिक टन रहेकामा आव २०७९÷८० मा प्रतिहेक्टर छ मेट्रिक टन रहेको थियो ।

 

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत विश्वास काफ्लेले जिल्लामा चैते धानको उत्पादकत्वसँगै उत्पादनमा वृद्धि भएको जानकारी दिनुभयो । जिल्लामा पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा चैते धानको उत्पादनमा वृद्धि देखिएको उहाँको भनाइ छ । आव २०७९÷८० मा ६ हजार १२३ मेट्रिक टन धान उत्पादन भएकामा २०८०÷८१ मा ६ हजार २४४ मेट्रिक टन तथा आव २०८१÷८२ मा सात हजार ५३ मेट्रिक टन धान उत्पादन भएको काफ्लेले जानकारी दिनुभयो ।

काफ्लेका अनुसार चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । पर्याप्त सिँचाइ, अनुदानको व्यवस्था, उत्पादकत्वमा वृद्धि, रोग कीराको प्रकोप न्यून, अनुकूल मौसम, मलबीउको न्यून अभावलगायत कारण किसान चैते धानतर्फ आकर्षित भएका सूचना अधिकारी काफ्लेले बताउनुभयो ।

जिल्लामा आव २०७९÷८० मा एक हजार १० हेक्टर, आव २०८०÷८१ मा एक हजार ५३ हेक्टर तथा आव २०८१÷८२ मा एक हजार एक सय २० हेक्टरमा चैते धानको खेती गरिएको थियो । यसैबीच, जिल्लामा बर्खे धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये साउन ६ गतेसम्म १५ हजार १३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको काफ्लेले जानकारी दिनुभयो । जिल्लामा यस वर्ष १८ हजार सात सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको उल्लेख गर्दै सूचना अधिकारी काफ्लेले नवलपुरमा धान रोपाइँ हुने क्षेत्रफलको करिब ८० दशमलव दुई प्रतिशत भागमा रोपाइँ सकिएको बताउनुभयो ।

 

नेपालमा मनसुन चाँडो भित्रिएको भनिए पनि यहाँ नियमित वर्षा हुन नसक्दा धान रोपाइँ ढिलाइ भएको उहाँको भनाइ छ । नियमित वर्षा भएको अवस्थामा साउन २० गतेसम्म जिल्लामा रोपाइँ सकिने उहाँले जानकारी दिनुभयो । जिल्लामा धानखेती हुने कुल क्षेत्रफलको करिब ५५ प्रतिशत भागमा मात्र सिँचाइ सुविधा पुगेको छ ।

“जिल्लामा ट्युबबेल भएका ठाउँमा रोपाइँ सकिएको छ”, उहाँले भन्नुभयो, “कुलो र अकासे पानीका भरमा रोपाइँ हुने ठाउँमा धान रोप्नै बाँकी छ ।” मनसुनी वर्षा राम्रोसँग नभएकाले जमिनमा मूल नफुट्दा कुलो सञ्चालन हुन ढिलाइ भएको उहाँले बताउनुभयो । जिल्लामा अघिल्लो आव २०८१÷८२ मा जम्मा १८ हजार सात सय १६ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा ७१ हजार एक सय २० मेट्रिक टन उत्पादन भएको सूचना अधिकारी काफ्लेले बताउनुभयो ।

त्यसैगरी, कैलालीमा पनि चैते धान उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष चैते धान उत्पादनमा दुई हजार ३८० मेट्रिकटनले वृद्धि भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी दुर्गाप्रसाद ओझाले गत वर्ष जिल्लामा पाँच हजार ७२० मेट्रिकटन चैते धान उत्पादन भएकामा यस वर्ष आठ हजार १०० मेट्रिकटन उत्पादन भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यस वर्ष चैते धानखेतीको क्षेत्रफल पनि बढेको छ । जसले गर्दा उत्पादनमा वृद्धि भएको हो ।”

जिल्लामा गत वर्ष एक हजार १०० हेक्टर जग्गामा चैते धानखेती गरिएकामा यस वर्ष एक हजार ५०० हेक्टरमा खेती गरिएको उहाँले जानकारी दिनुभयो । सूचना अधिकारी ओझाका अनुसार यस वर्ष चैते धानको उत्पादकत्वसमेत वृद्धि भएको छ । गत वर्ष चैते धानको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर रहेकामा यस वर्ष पाँच दशमलव चार मेट्रिकटन प्रतिहेक्टर पुगेको हो । सबैभन्दा बढी भजनी नगरपालिकामा चैते धानखेती गर्ने गरिएको बताउँदै उहाँले जिल्लाका अति डुबान प्रभावित हुने अन्य क्षेत्रका किसानले चैत धानखेती गर्दै आएका उललेख गर्नुभयो ।

चैते धानखेतीका लागि किसानलाई ५० प्रतिशत अनुदानमा ज्ञान केन्द्रले यन्त्र उपकरण, बीउ, विषादीलगायत आवश्यक सामग्री उपलब्ध गराउँदै आएको सूचना अधिकारी ओझाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्