सिरहा, ७ साउनः जिल्लाको प्रमुख भन्सार कार्यालय माडरले आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलनमा उल्लेखनीय सफलता हात पारेको छ । कार्यालयले निर्धारित लक्ष्यभन्दा रु दुई करोड ७० लाख ६९ हजार बढी राजस्व सङ्कलन गर्दै कुल रु १४ करोड ८३ लाख ६१ हजार सङ्कलन गरेको हो ।
भन्सार प्रमुख तोयानाथ सापकोटाका अनुसार आर्थिक वर्षको अधिकांश महिनामा लक्ष्यभन्दा बढी राजस्व उठाइएको छ । मङ्सिरमा मात्र ९४ प्रतिशत राजस्व सङ्कलन भए पनि बाँकी सबै महिनामा लक्ष्य पार भएको बताउँदै उहाँले समग्रमा १२२ प्रतिशत राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।
गत चार वर्षको तुलनामा गत आवको राजस्व सङ्कलन सबैभन्दा बढी भएको प्रमुख सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७८/७९ मा रु ११ करोड २१ लाख ९७ हजार, आव २०७९/८० मा रु नौ करोड ३६ लाख १० हजार र आव २०८०/८१ मा रु नौ करोड ४६ लाख आठ हजार राजस्व सङ्कलन भएको थियो ।
प्लान्ट क्वारेन्टाइन सेवा स्थापनामा ढिलाइ
माडर भन्सारमा लामो समयदेखि छलफलमा रहेको प्लान्ट क्वारेन्टाइन सेवा स्थापना भई कार्यान्वयन हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सम्बन्धित विभागले सेवा स्थापनाको आवश्यकता औँल्याउँदै आए पनि प्रक्रियागत ढिलाइका कारण योजना अलपत्र परेको हो ।
भन्सार प्रमुख सापकोटाका अनुसार माडरमा क्वारेन्टाइन सेवा सुरु भएमा यसले माडर, ठाडी र राजविराजका भन्सार कार्यालयलाई सेवा दिइनेछ । “यी नाका हुलाकी राजमार्गमार्फत माडरसँग सिधा जोडिएका छन्, जसले समन्वय र ढुवानी प्रक्रिया सहज बनाउनेछ”, उहाँले भन्नुभयो । प्लान्ट क्वारेन्टाइन सेवा सुरु भएमा कृषिजन्य वस्तुको आयातनिर्यात सजिलो हुने, ढुवानी खर्च घट्ने, उपभोक्ता मूल्यमा स्थिरता आउने र राजस्व असुलीमा दोब्बर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
हाल कृषिजन्य वस्तु आयातनिर्यात गर्नेलाई क्वारेन्टाइन प्रमाणीकरणका लागि पूर्वमा विराटनगर वा पश्चिममा जलेश्वरसम्म जानुपर्ने बाध्यता छ । यसले अतिरिक्त ढुवानी खर्चमात्र होइन, उपभोक्तालाई पनि महँगो मूल्य तिर्नुपर्ने अवस्था सृजना भएको व्यवसायीहरूको गुनासो छ ।
माडर भन्सार कार्यालयले देखाएको राजस्व सङ्कलनको प्रगति र सम्भावित सेवा विस्तारको तयारीले आगामी वर्षहरूमा अझ उल्लेखनीय सुधारको सङ्केत गरेको छ । यथाशीघ्र प्लान्ट क्वारेन्टाइन सेवा सुरु गर्न सम्बन्धित निकायले गम्भीरता देखाउनुपर्ने माग व्यवसायी र भन्सार प्रशासन दुवैबाट उठ्न थालेको छ ।
प्रतिक्रिया दिनुहोस्