तनहुँका किसानलाई दूधमा अनुदानबापत रु ९७ लाख वितरण

दमौली (तनहुँ), २ साउन । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध उत्पादक किसानलाई रु ९७ लाख ४१ हजार ५३४ अनुदान वितरण गरेको छ । दुग्ध उत्पादक किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले आर्थिक वर्ष २०८१र८२ मा ११ सहकारीमार्फत उक्त रकम वितरण गरेको हो ।

केन्द्रमार्फत दूधमा अनुदान वितरण कार्यक्रम दोब्बरले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा किसानलाई रु ४३ लाख ७३ हजार अनुदान वितरण गरिएको थियो ।

केन्द्र प्रमुख रविनसन अधिकारीले उत्पादनका आधारमा अनुदान दिने नीतिले दुग्ध उत्पादनतर्फ किसान आकर्षित भएको बताउनु भयो । चालु आवमा दुग्ध उत्पादनमा अनुदान कार्यक्रमका लागि रु एक करोड बजेट विनियोजन गरिएको थियो ।

उहाँले भन्नुभयो, “दुग्ध उत्पादनमा किसानलाई आकर्षित गराउने उद्देश्यसहित प्रतिलिटर रु तीनका दरले अनुदान वितरण गरेका छौँ । चालु आवमा ३२ लाख ४७ हजार लिटर दूधमा अनुदान वितरण गरिएको अधिकारीले जानकारी दिनुभयो ।

जिल्लाका १५ वटा सहकारीमार्फत प्रस्ताव आए पनि दोहोरो सुविधा नहुने गरी१०– ११ वटा सहकारीमार्फत दूध बिक्री वितरण गर्ने किसानलाई अनुदान दिइएको अधिकारीले उल्लेख गर्नुभयो । दूधमा उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएकाले जिल्ला दूधमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ ।

त्यसैगरी शुक्लागण्डकी नगरपालिका–७ स्थित गौ सेवा दुग्ध उत्पादक सहकारी संस्थामार्फत ९१ हजार ५३० लिटर दूध बिक्री गरेबापत रु दुई लाख ७४ हजार ५९० र शुक्लागण्डकी नगरपालिका–९ स्थित जयलक्ष्मी दुग्ध उत्पादक सहकारीमार्फत तीन लाख ४३ हजार ४६६ लिटर दूध बिक्री गरेबापत रु १० लाख ३० हजार ३९८ अनुदान वितरण गरिएको केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्