काठमाडौँ, ३१ असार । निर्देशक कृषा चौलागाईं यतिबेला नयाँ फिल्म ‘जहाजैमा’ बनाउने तयारीमा छिन् । त्यसका लागि प्रि(प्रोडक्सनको काम र कलाकार छनोट प्रक्रिया एकसाथ चलिरहेको छ । फिल्ममा सौगात मल्ल, केदार घिमिरे, कर्मा शाक्य, वर्षा सिवाकोटी ,जापानी अभिनेत्री रुजेल इचिमिया र अनुभव रेग्मी अनुबन्धित भइसकेका छन् ।
अनुभव तिनै हुन्, जसले ‘नाइँ नभन्नू ल’का श्रृंखलामा बाल कलाकार भएर काम गरेका थिए । ‘रिदम’, ‘काली’, ‘आवरण’, ‘प्रेमगीत ३’, ‘शब्द’, ‘भैरे’, ‘हजार जुनीसम्म’ जस्ता फिल्ममा पनि काम गरिसकेका उनले ‘जहाजैमा’बाट मुख्य अभिनेताको रुपमा डेब्यु गर्न लागेका हुन् । फिल्ममा उनी नेपालबाट जापान पढ्न जाने पात्रको भूमिकामा देखिने भएका छन् ।
‘जहाजैमा’का लागि अनुभव पहिलो रोजाइ भने होइनन् । उनीभन्दा पहिला अभिनेता प्रदीप खड्कालाई फिल्म अफर गरिएको थियो । उनीसँँग सम्झौता गर्ने उद्देश्यले फिल्मको टिम ‘ऐरी’को सुटिङ स्थल बागलुङ समेत पुगेको थियो । तर, प्रदीपले भदौबाट अर्को फिल्मलाई समय दिएकाले काम गर्न नभ्याउने बताएपछि फिल्मको टिमले अनुभवलाई अनुबन्धित गरेको स्रोत बताउँछ ।
यूएनए प्रोडक्सनले निर्माण गर्न लागेको ‘जहाजैमा’को छायांकन आउँदो भदौबाट जापानमा सुरु गरिँदैछ । नेपाल र फिलिपिन्समा पनि फिल्मको छायांकन हुने बताइएको छ । आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म उज्जवल गुरागाईंले निर्माण गर्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्