खडेरीले सम्झाउँदै ‘डाक वचन’

महोत्तरी, २९ असार । मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले पनि खेतीपाती र मौसमका कुरा उप्किँदा पाका किसान ‘डाक वचन’ सम्झन्छन् । अनुकूल÷प्रतिकूल मौसम र खेतीपातीका सन्दर्भमा सिद्धपुरुष ‘डाक’ले करिब तीन सय वर्षअघि गरेका भविष्यवाणी उमेर घर्केका मैथिल (मिथिलाका बासिन्दा) लाई कण्ठस्त छ । मौसमवेत्ता र भविष्यवेत्ता मानिने ‘डाक’ मैथिल जनजीवनका सम्झिरहने पात्र मानिन्छन् ।

“अखाढ सुक्खा, सावन दुखद, भादो भैंसल, अगहन झखत” (असारमा पानी नपर्दा साउन दुःखकै हुन्छ, अनि भदौ पनि राम्रो हुँदैन, सारमा मङ्सिर टोलाएर बस्नुपर्ने हुन्छ) यसपालि पानी नपरी असार बित्दा दिक्क हुनुभएका भङ्गाहा–५ भूचक्रपुरका ७० वर्षीय दीपनारायण चौधरी थारू डाक वचन सम्झँदै भन्नुहुन्छ, “अखाढक मार सालभर खेप परैय” (असारमा पानी नपरेको मार (मर्का) वर्षभरि झेल्नु पर्छ) ।

मिथिलामा प्रायः मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गको व्यावहारिक प्रचलन हुँदा सौरमासभन्दा चन्द्रमासको गणनामा महिना गनिन्छन् । चन्द्रमासले शुक्रबार नै साउन लागेपछि चौधरीले डाक वचन सम्झँदै साउनको पनि छन्द निको नदेखिएको बताउनुभयो । “सावन सुक्खासँगे चलै, किसानक भाग्य अधरमें टलै” (साउनमा पानी नपर्दा किसानको कर्म पासोमा भुन्डिएजस्तै हुन्छ) डाक वचन सम्झँदै चौधरी भन्नुहुन्छ, “सावनक रुइख सेहो निक नई दिखाइय” (साउनको छाँट पनि निको देखिन्न) । शुक्रबार साउन कृष्णपक्ष सुरु भए पनि जेठको प्रचण्ड राप बिस्र्याइरहेको उहाँ बताउनुहुन्छ । यसपालि पानी नपरेर धानबाली लगाउन नपाएका चौधरीजस्तै पाका किसान अहिले दिक्दार देखिन्छन् ।

यहाँ ‘डाक वचन’ पढेर भनिएका होइनन् । एक अक्षर पढ्न÷लेख्न नजान्ने भङ्गाहा–४ पलारका ८० वर्षीय चौठी बाँतरलाई ‘डाक वचन’का थुप्रै पङ्ति कण्ठस्त छन् । यो भन्ने, सुन्ने प्रक्रियाबाट पुस्तान्तरण हुँदै आएको छ । यद्यपि अहिलेका नयाँ युवा पुस्ताले भने यी पुराना कुरामा ध्यान नदिने गरेका बाँतरको गुनासो छ । आफूले बाजेको काखमा खेल्दैदेखि उहाँबाट डाक वचन सुनेको बाँतर बताउनुहुन्छ ।

अहिलेको मौसम अवस्था पानी पर्ने छाँटको नभएको डाक वचनका आधारमा बाँतरको निष्कर्ष छ । “सावन अन्हार, न बादर न बयार, पिया परदेश किसान लाचार” (साउन न अँध्यारो छ, न बादल न मेघ, प्रियजन परदेश छन्, यस्तो बेला किसान लाचार हुन्छन्) डाक वचनका पङ्ति सम्झँदै बाँतर भन्नुहुन्छ, “सावन जौं रहै निरभ्र गगन, खेत सुखाय, मरय जनमन” (साउनमा आकाश बादलबिनाको देखिनु वर्षा नहुने सङ्केत हो । यसले जग्गा रुखो बनाउँछ र जनजीवन सङ्कटमा पर्छ) ।

सिङ्गो असार पानी नपरी बित्दा खेत रोप्न नपाएका किसान साउन लाग्दा पानी पर्छ कि भनेर गरिएको आश पनि निरर्थक भएको बताउँछन् । अब त चन्द्रमासले साउन कृष्णपक्ष सुरु भएको छ । तर लक्षणहरूले पानी पर्ने छाँट नदेखिँदा ‘डाक वचन’ सम्झँदै महोत्तरीको औरही–७ का ७५ वर्षीय मोहन महतो भन्नुहुन्छ, “सावन जो नभ चटकी रहल, बून्द नई टप्केइ खेत ! धान–पानक सगुन घटै रोपनी होई न हेत !” (साउन लाग्दा पनि आकाश सफा देखिए पानी पर्दैन, खेत रुखा हुन्छन्, खेती चौपट हुन्छ) । अहिले ठ्याक्कै यस्तो लक्षण देखिएको महतोको भनाइ छ ।

मिथिलाको जनमनमा बसेका मौसमवेत्ता डाकको समय एकीनसाथ भन्न नसकिए पनि १९औँ शताव्दीको पूर्वाद्ध हुनसक्ने अड्कल गरिएको छ । गृहस्थ जीवनका सबै पाटामा डाकका भविष्यवाणी छन् । तर मिथिलामा मुख्यतः खेतीपाती र मौसमबारे बढी चासो राखिन्छ । डाकका चौपाइ (श्लोक) का प्रयोग भएका शब्दले यो समय १९औँ शताव्दीको पूर्वाद्ध हुनसक्ने अड्कल गरिँदै आइएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ ।

यसपालि धानको बीउ राख्नदेखि रोपाइँको समयसम्म अनुकूल वर्षा नहुँदा सिङ्गो मधेस मुख्यबाली लगाउन नपाएर आक्रान्त छ । खडेरीले पिल्सिएका मैथिल दिनको लक्षण र ‘डाक वचन’का उक्ति सम्झेर विरक्तिएका छन् । अन्नको भण्डार मानिने मधेसमा धानबाली लगाउन नपाएपछि किसान विलखबन्द परेका छन् ।

खेतीपाती र मौसमीय अड्कल गरिन केही दशक पहिलेसम्म निकै भरपर्दो मानिने ‘डाक वचन’ पछिल्ला केही दशकयता भने देखिने अवस्था र उक्तिका बीच मेल खान छाडेको कतिपय बताउँछन् । निश्चित समयमा देखिने मोसमीय अवस्था र त्यससँग जोडिएका डाकका वचनमा अब तारतम्य त्यति मिल्न छाडेको भङ्गाहा–७ मेघरोलका बासिन्दा वातावरण तथा चुरे विज्ञ डा विजयकुमार सिंह बताउनुहुन्छ । “अचेल डाक वचनका कतिपय सन्दर्भ मिल्दैनन्, तर यसको कारण डाक वचन गलत भएर होइन, पछिल्लो जलवायु परिवर्तनको असर हो”, सिंह भन्नुहुन्छ, “जलवायु परिवर्तनको असरले पुराना उक्ति र अवस्थाबारे गरिने अड्कल मेल खान छाडेका हुन् ।” अनि प्राकृतिक सम्पदाहरूको संरक्षण अवस्था पनि पहिलेजस्तो नहुँदा अहिले कतिपय सन्दर्भ मेल नखाने देखिने गरेका उहाँको भनाइ छ ।

यसपालिको लामो खडेरीले यहाँको मुख्यबाली धान लगाउन पाइएको छैन । यसैबीच मधेस प्रदेश सरकारले गत बिहीबार नै वातावरणीय असन्तुलनले वर्षा नहुँदा धानखेती गर्न नपाइएपछि प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रदेश सरकारको सुक्खाग्रस्त क्षेत्र घोषणाले मात्र राहत नहुने किसानको पीडा छ । अब तीनै तहका सरकारले यो खडेरीबाट जोगाउन र नयाँ बाली लगाउने काममा किसानलाई उत्प्रेरित गर्न सक्नुपर्ने किसान बताउँछन् ।

“प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा त गर्यो, यति घोषणाले त किसानलाई राहत हुँदैन नि, अब धानबाली लगाउन नपाएका किसानलाई अर्को बाली लगाउन उत्प्रेरित गर्नसँगै साधन स्रोतको पहुँच दिनपर्छ”, महोत्तरीकै बासिन्दा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य लक्ष्मण महतो भन्नुहुन्छ, “यसबीच विभिन्न राहतका कार्यक्रमले जनतालाई जोगाइराख्न तत्काल पहलकदमी बढाइनु पर्छ ।”

मिथिला क्षेत्रमात्र नभएर यसपालि सिङ्गो मधेसमै रोपाइँ निकै पछि परेको छ । चन्द्रमासले असार सकिएर साउन लागिसक्दासम्म मधेसमा धान रोपाइँ २५ प्रतिशत कटेको छैन । अझ महोत्तरीको धान रोपाइँ त १० प्रतिशत पनि पुगेको छैन । मधेसका आठ जिल्लामध्ये सबैभन्दा कम रोपाइँ भएको महोत्तरी नै हो । जम्मा ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये करिब ४५ हजार हेक्टर (प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अभिलेखमा ४२ हजार ५०० हेक्टर उल्लेख छ) धानखेतीको क्षेत्र मानिन्छ । जसमध्ये हालसम्म चार हजार हेक्टरमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । रोपाइँ भएको खेतमा पनि लामो खडेरीले धजा फाटेर धानका बोट पहेँलिएका छन् ।

मधेसमा तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफल धानखेतीका लागि योग्य मानिन्छ । तर यहाँ अहिलेसम्म करिब ९३ हजार हेक्टरमा मात्र धान रोपाइँ भएको छ । रोपाइँ भएका खेत पनि महोत्तरीका जस्तै धजा फाटेका प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्