खोटाङ, २९ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युवा किसान धर्मराज राईले बाँझो जमिन भाडामा लिएर यस वर्ष चार हजार किलो आलु फलाउनुभएको छ । सोही नगरपालिकाको वडा नं २ मुडेका दोर्जी शेर्पाको कुनाखर्कमा रहेको २५ रोपनी बाँझो जमिन १० वर्षका लागि भाडामा लिएर व्यावसायिक आलुखेती सुरु गर्नुभएका धर्मराजले पहिलो वर्ष नै सो परिमाणमा आलु उत्पादन गर्नुभएको हो ।
बाह्र वर्षअघिदेखि जिल्लामै अग्र्यानिक तरकारी तथा फलफूलखेती गर्दै आउनुभएका धर्मराजले उत्पादन गर्नुभएको आलु प्रतिकिलो रु ४५ मा बिक्री भइरहेको छ । वर्ष दिनअघि जग्गाधनी शेर्पासँग एक सय २५ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक आलुखेती सुरु गर्नुभएका उहाँले तीन युवालाई रोजगारीसमेत दिनुभएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयमा ‘झिसेपु अग्र्यानिक कृषि फार्म’ दर्ता गरेर व्यावसायिक कृषि पेसामा लाग्नुभएका धर्मराजले उत्पादन गर्नुभएको आलुमध्ये एक हजार किलो बीउका लागि राखेर बाँकी बिक्री गर्ने तयारी गर्नुभएको छ । उत्पादित आलुमध्ये करिब दुई हजार ८०० किलो शनिबार दिक्तेल बजारमा सञ्चालित होटल तथा पसलमा लगेर बिक्री गरेको धर्मराजले जानकारी दिनुभयो ।
व्यक्तिगत लगानीमा व्यावसायिक आलुखेती तथा उन्नत जातका रायोको साग र मुलाको बीउ उत्पादन गर्ने अभियानमा लाग्नुभएका धर्मराजले पाँच राँगा÷भैँसीपालन गर्नुभएको छ । अग्र्यानिक आलु उत्पादन गर्ने अभियानमा लाग्नुभएका उहाँले त्यही राँगाभैँसीको मलमूत्रसहित स्याउला र पत्कर प्रयोग गरेर बनाइएको मल आलुखेतीमा हाल्दै आउनुभएको छ ।
करिब ३०–४० वर्षदेखि बाँझो रहेको जमिन खनजोत गरेर व्यावसायिक खेती सुरु गर्नुभएका धर्मराजले गत माघमा ६०० किलो भोटाङ्गे जातको आलुको बीउ खरिद गरेर रोप्नुभएको थियो । कुनाखर्कमा उत्पादित अग्र्यानिक आलुलाई खोटाङको ब्राण्ड बनाउने उद्देश्यले व्यावसायिक आलुखेती सुरु गरेको उहाँले बताउनुभयो ।
करिब रु ११ लाख लगानीमा सुरु गर्नुभएको आलुखेतीलाई आगामी वर्षदेखि थप विस्तार गर्दै लैजाने तयारीमा रहेको धर्मराजले बताउनुभयो । “पहिलोपटक लगाइएको आलुले राम्रो उत्पादन दिएको छ । यसलाई थप विस्तार गर्दै ब्राण्डिङ गर्ने योजनामा छु”, उहाँले भन्नुभयो, “आलुसँगै पशुपालन तथा तरकारीखेती गर्ने योजना छ । यसका लागि थप जनशक्ति खोजी गरिरहेको छु ।”
अग्र्यानिक कृषि उपज उत्पादन अभियानमा लाग्नुभएका धर्मराजले सुरुमा वडा नं ३ बाम्राङस्थित झिसेपुमा व्यावसायिक रूपमा अग्र्यानिक फलफूल तथा तरकारीखेती गर्नुभएको थियो । करिब १५ वर्षदेखि कृषि पेसामा आबद्ध उहाँले झिसेपुस्थित आफ्नै जग्गामा किबी, अलैँची, बेसार र अम्रिसोको व्यावसायिक खेती गर्दै आउनुभएको छ ।
कृषि पेसालाई आधुनिक तथा यान्त्रीकीकरण गर्दै व्यावसायिक बनाउने अभियानमा लाग्नुभएका धर्मराजले जिल्लाका अन्य किसानलाई तालिमसमेत दिँदै आउनुभएको छ । झिसेपुको फार्म सञ्चालनका लागि उहाँलाई श्रीमती र छोराछोरीले साथ दिने गरेका छन् । पछिल्लो समय जिल्लाका अधिकांश किसानले थोरै समयमा नै पर्याप्त आम्दानी गर्ने उद्देश्यका साथ रासायनिक मल प्रयोग गरेर फलफूल तथा तरकारी उत्पादन गर्ने गरेका छन् । रासायनिक मल प्रयोग गरेर उत्पादन गरिएका कृषि उपज उपभोग गर्नु मानव स्वास्थ्यका लागि सबैभन्दा हानीकारक हुने स्वास्थ्यकर्मीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्