ल्हेन्दे खोला बाढीमा फसेका ५७ जनाको उद्धार, २० जना बेपत्ता, २३ कन्टेनर, छ ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन बगे

रसुवा, २५ असार ।  नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा मंगलबार बिहान आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ ।
ति मध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । बाढी पहिरोमा परी २० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सम्पर्कविहीन हुनेहरुमा बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मिनारायण थारु र सुरेश थारु तथा बागलुङका नरेश विक रहेका छन् ।
यसैगरी सिन्धुपाल्चोकका फुर्वा लामा र ठेगाना नखुलेका गोविन्द मोक्तान र लोकमान तामाङ रहेका छन् । यस्तै ६ चिनियाँ नागरिकसमेत बाढी पहिरोमा परी सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाको धादिङस्थित ६ नम्बर बाहिनीबाट गल्छि हुँदै विभिन्न १७ स्थानमा दुई सय ९४ जना तथा रसुवास्थित श्रीनाथ गणबाट थप फौँज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । हासम्म त्रिशुली नदीको विभिन्न चार स्थानमा मानव अङ्ग फेला परेको बताइएको छ ।
बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षसितको थप विववरण सार्वजनिक भएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् ।
यस्तै, बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् । तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।
यसैगरी, २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लोदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ । यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
साथै माथिल्लो त्रिशूली ‘ए’को ६० मेघावाट क्षमताको जलविद्युत् केन्द्रको ड्यामसाइटमा पनि क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अन्य क्षतिको विवरण प्राप्त भएको छैन ।
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न त्यसतर्फ गएका छन ।
प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल छन ।
यसैगरी नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरिक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभिागका प्रमुख हुतराज थापा पनि बाढी प्रभावित क्षेत्रमा गएका छन ।
यस्तै, सांसदहरुले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विपदको पूर्वतयारीलाई तिव्रता दिन, मौसमजन्य सूचना प्रणालीलाई थप व्यवस्थित गर्न र जनधनको क्षति न्यून गराउने अधिकतम उपायको खोजी गर्न आग्रह गरेका हुन ।
सांसद वर्षमान पुनले मनसुनजन्य विपदको तयारीमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराए । उनले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक रोकिएको विषयमा जिज्ञासा राखे ।
सांसद  डिकबहादुर लिम्बुले वार्षतको समयमा किसानले रासायनिक मलको अभावमा खेतीपाती गर्न समस्या भएको भएपनि राज्यले उचित प्रबन्ध गर्न नसकेको बताए ।सांसद दीपा शर्माले देशभर प्राकृतिक विपदका कारण जनधनको क्षति भएको विवरण पेश गर्दै राहत तथा उद्धारको उचित प्रबन्ध गर्न माग गरिन ।
सांसद प्रेम सुवालले बाढी र पहिरोका कारण रसुवागढीमा भएको जनधनको बारेमा यर्थाथ जानकारी गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराए । सांसद तारा लामा तामाङले रसुवामा आज आएको बाढी पहिरोमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरिन ।
सांसद दामोदर पौडेलले सरकारले सुन चाँदी व्यवसायीले विलासिता कर हटाउन राखेको मागको उचित सम्बोधन गर्न आग्रह गरे ।
सांसद दीपक गिरीले कोभिड १९ को कहरपछि मुलुक आर्थिक संकटमा फसेको, विकास बजेटको प्रभावकारी खर्च हुन नसकेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई व्यवसायीमैत्री बनाउन आग्रह गरे ।
सांसदहरु दुर्गा राई, नागिना यादव, नारायणप्रसाद आचार्य, नारायण शर्मा, निर्मला कोइराला, पूर्णबहादुर घर्ती, प्रकाश ज्वाला, प्रतिमा गौतम, प्रेमबहादुर आले, वासुदेव घिमिरेले मनसुनजन्य घटना बृद्धि भएकाले जनधनको क्षति हुन नदिन आपतकालीन उद्धार, राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।
यस्तै, उद्योग, वाणिज्य तथा तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाढीले रसुवाको टिमुरेमा निर्माणधीन सुख्खा बन्दरगाहमा पुगेको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताएका छन ।
मन्त्रालयत प्रश्नोत्तरको उत्तर दिने क्रममा उनले रसुवामा आएको बाढीले निर्माणधीन सुख्खा बन्दरगाहमा पनि ठूलो क्षति पु¥याएको बताए । उनले भने, “उक्त बन्दरगाहमा झन्डै ७५ प्रतिशत काम सम्पन्न भइसकेको थियो । हाल क्षतिग्रस्त छ ।
चिनियाँ सरकारको सहयोगमा निर्माण भइरहेको थियो, कति क्षति भयो भन्ने विवरण अहिलेसम्म आएको छैन । उक्त बन्दरगाह पछि सञ्चालन गर्न फेरी चीन सरकारसँग आग्रह गर्नेछौँ ।”
बाढीले त्यहाँ राखिएका विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छभने बाढीमा १८ जना बेपत्ता रहेको बताइएको छ ।
यसैबीच,नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाढीले क्षति पु¥याएको स्थानमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गका छन ।
सभापति देउवाले मंगलबार सामाजिक सञ्जालमार्फत रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहत प्रभावकारी बनाउन अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस्