काठमाडौँ, २२ असार । अभिनेत्री प्रियंका कार्की ‘प्रतिवैरम’को आइटम गीतमा देखिने भएकी छन् । केही दिनअघि उनले नृत्य गरेको फिल्म ‘हली’को गीत ‘चानस पाए त’ सार्वजनिक भएको थियो । अब उनले अर्को फिल्म ‘प्रतिवैरम’को आइटम गीतमा नृत्य गरेकी छन् । यो फिल्ममा उनको अभिनय भने छैन ।
चलचित्र विकास कम्पनीको सेटमा दुई दिनसम्म खिचिएको गीतमा संगीत मनिष अधिकारी, शब्द रोशन दास, र स्वर रितिका श्रेष्ठको रहेको छ भने छायांकन नितेश घतानले गरेका छन् । भिडियोमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ । आइटम गीत खिचेसँगै फिल्मको आधाभन्दा बढी छायांकन पूरा भएको जनाइएको छ । बाँकी छायांकन मनसुन निस्क्रिय भएपछि गरिने बताएका छन् ।
यो फिल्मको निर्देशन रोशन दासले गर्ने भएकी छन् । यो फिल्ममा सम्राट दास, रमेश बुढाथोकी, नविन श्रेष्ठ, आलिशा बास्तोला, बिरेन्द्र कुशवाह, सुप्रज्ञा शर्मा, रोशन, नारायण बिक, रोनी यादव, कमल सुनार, गीता श्री, अग्नि सुवेदी लगायतको अभिनय रहेको छ । यसमा निर्देशक दास स्वयंको कथा छ भने पटकथा युवराज भट्टराईले तयार पारेका हुन् ।
किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेनमेन्टसँगको सहकार्यमा रेज इन्टरटेनमेन्टले निर्माण गरेको ‘प्रतिवैरम’ मधेशको कथामा आधारित छ । निर्देशक दासका अनुसार मधेश केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुसँगै दाजु–बहिनीबीचको भावनात्मक सम्बन्धको कथा फिल्ममा छ । फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्