राँझा (बाँके), २२ असार । मुसलमान समुदायको मोहर्रम पर्वका अवसरमा घरघरमा राखिएका ताजियाले नेपालगञ्ज ताजियामय बनेको छ ।
मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन् । मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदको नाति हजरत इमाम हुसेनले गरेको साहदतको सम्झनास्वरुप मोहर्रम पर्वका अवसरमा ताजिया राख्ने चलन रहेको बाँकेका मुस्लिम अगुवा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय अध्यक्ष मोहम्मद हारुन हलवाईले बताए।
उनका अनुसार इस्लामिक क्यालेन्डरको पहिलो महिनामा मनाइने मोहर्रमको नवौँ दिनमा मुस्लिम धर्मावलम्बीहरूले आ–आफ्नो घरमा राखेको ताजिया १०औँ दिनमा कर्बलामा विसर्जन गर्ने गरिन्छ । ताजिया बाँस, कागजको ढड्ठालगायतका कच्चा सामग्रीको प्रयोग गरी बनाइने गरिएको छ ।
मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रूपमा आज घर नजिकै रहेका कर्बलाहरूमा विसर्जन गर्छन् । नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले पनि आ–आफ्नो घर अगाडि ताजिया राखेर पूजाआजा गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ ।
आफ्नो आर्थिक हैसियतअनुसार ताजिया स्थापना गरिने परम्परा भए पनि पछिल्ला केही वर्ष ठूलो ताजिया राख्ने अस्वस्थ प्रतिस्पर्धा देखिएको मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीको भनाइ छ । उनले साना–ठूला जस्तो ताजिया राखे पनि विसर्जन गरिने भएकाले ठूलै राख्नुपर्ने कुनै जरुरी नरहेको बताए।
हिन्दूलगायत अन्य धर्म समुदायले समेत मनाउन थालेपछि मोहर्रम पर्व धार्मिक सद्भावका रूपमा विकसित हुँदै गएको छ । भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृृद्धि तथा मनोइच्छा पूरा हुने विश्वास रहेको उनले बताए ।
।
प्रतिक्रिया दिनुहोस्