वैदेशिक रोजगारबाट फर्केर केराखेतीमा रमाउदै भण्डारी

कैलाली, १९ असार । धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले विगत ६ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएको छ ।
सोह्र वर्षको कलिलै उमेरमा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका भण्डारी २० वर्षसम्म वैदेशिक रोजगार गरी घर फर्किएपछि केराखेतीमा लागेको हो । उनले कोराना महामारी फैलिएपछि भएको ‘लकडाउन’ कै बीचमा व्यवसाय सुरु गरेको हो ।
भण्डारीले भने, “विदेशबाट फर्केएपछि फुर्सदमा घर बसिरहेको थिए, त्यतिबेला नेपालसहित सारा विश्व नै कोभिड–१९ को महामारीमा थियो । उक्त समयमा बजारमा अर्को व्यापार सुरु गर्ने अवस्था थिएन, गाउँमा केही व्यक्तिले केराखेती व्यवसाय गरेका थिए, त्यो देखेर मैले पनि अब केराखेती नै गर्नुपर्छ भन्ने व्यवसाय सुरु गरेको हुँ ।”
उनले आफ्नो एक बिघा जमिनमा केराखेती लगाएका छन् । त्यसबाट वार्षिक रु १५ लाख बराबर केराको कारोबार हुने र रु १० लाख जति फाइदा हुने गरेको भण्डारीले बताए । कृषक भण्डारीले परिवारको पालनपोषण गर्ने र  छोराछोरीको शिक्षादीक्षालगायत सम्पूर्ण खर्च सोही व्यवसायबाट धान्दै आएको बताए ।
हिजोआज धेरैजसो व्यक्तिहरू कमाउनका लागि विदेश पलायन भइरहेका बेला भण्डारी भने विदेशको मोह त्यागेर आफ्नो ठाउँ र परिवारसँगै बसेर व्यवसाय गरिरहेको छ । “गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्ने उदाहरण दिइरहेको छु । पाँच जनाको परिवारको खर्च यसैबाट टरेको छ”, उनले भने, “सबैभन्दा ठूलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीभाइसँगै बसेर रमाउन र कमाउन पाइएको छ । यो नै खुसीको कुरा हो ।”

प्रतिक्रिया दिनुहोस्