प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल जारी

काठमाडौँ, ८ असार । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफल जारी छ । बैठकमा सांसदहरूले बजेटलाई नागरिक र विकासमैत्री बनाउन माग गरेका छन् ।
विनियोजन विधेयक(२०८२ अन्तर्गत राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालय, आयोगका विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनीहरूले कतिपय मन्त्रालयको बजेट सन्तुलित नभएको भन्दै परिस्कृत गरेर लैजान सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
खर्च कटौतीको प्रस्तव राख्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले ‘भिजिट भिसा’ प्रकरणबारे अभिलम्ब छानबिन समिति गठन गर्न सरकारसमक्ष माग गरे। उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई बजेटले उपेक्षा गरेको भन्दै बालबालिकको शिक्षा, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा तथा महिलाको अधिकार र सुरक्षाको सुनिश्चितताका लागि प्रयाप्त बजेट छुट्याउनुपर्नेमा जोड दिएका छन् ।
उनले खेलकुद क्षेत्रलाई पनि बजेटले उपेक्षा गरेको भन्दै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन हुन नसकेको बताए । सांसद पाण्डेले योजना बैंकमार्फत तीन करोड मुनिका योजना नहुने भनिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
माओवादी केन्द्रका गङ्गा कार्कीले बजेटमा उत्पादन वृद्धि र अनावश्यक खर्च कटौतीलाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । उनले आर्थिक कार्यक्रम सुधार, कृषि उत्पादन प्रवर्द्धन, खेलकुद र पर्यटन क्षेत्रको विकासलगायत क्षेत्रलाई विनियोजन विधेयकले प्राथमिकता नदिएको गुनासो गरेको र बजेटले दोलखालाई विभेद् गरेको बताए।

प्रतिक्रिया दिनुहोस्