नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

काठमाडौँ, ७ असार । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदै आएको बताएका छन् ।

अन्तरराष्ट्रिय योग दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउने, तनावबाट मुक्त गराउने र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तरराष्ट्रिय योग दिवसको रूपमा मनाउन सुरू गरिएको हो । यस वर्ष हामी ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने आदर्श वाक्यका साथ योगको मर्म र भावनाबमोजिम विश्व योग दिवस मनाइँदैछ ।

योगलाई शारीरिक अभ्यास तथा निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक मानवीय जीवनशैली एवं जीवनपद्धतिका रूपमा पनि लिइन्छ ।

विश्वव्यापी रुपमा एकता, शान्ति र स्वास्थ्यको सन्देश प्रवाह गर्ने योग हजारौँ वर्ष पुरानो पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंशको रुपमा रहेको देखिने उनको भनाइ छ । विभिन्न कारणबाट मानिसमा देखिने तनाव तथा प्रदूषण र प्रतिस्पर्धा आदिबाट जटिल बन्दै गएको मानव जीवनलाई सहज, सरल र स्वस्थ्य बनाउन योग अभ्यासलाई जीवनशैलीका रुपमा उपयोग गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्