तीनकुने हिंसात्मक घटनाका आरोपी मिश्रलाई धरौटीमा छाड्न आदेश

 

काठमाडौँ, ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । उनी मंगलबार बिहान काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि जेठ ११ गते सरकारी वकिलको कार्यालय काठमाडौंले मिश्रसहित ६१ जनाविरूद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो ।

त्यसमध्ये ११ जनाविरूद्ध आपराधिक उपद्रव र बाँकी ५० जनाविरूद्ध राज्यविरूद्धको कसुरमा मुद्दा दायर भएको थियो । ५० जनामध्ये ३९ जना मात्रै अदालतमा उपस्थित भएका थिए ।

मिश्र नवराज सुवेदी संयोजक रहेको ’संयुक्त जनआन्दोलन समिति’मा सदस्य सचिवसमेत थिए । उनलाई प्रहरीले चैत १५ गते घटनापछि त्यही साँझ पक्राउ गरी हिरासतमा राखेको थियो ।

त्यसविरूद्ध उनकी श्रीमतीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । जेठ २ गते सर्वोच्चका न्यायाधीशहरू कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले हाजिर जमानीमा छाड्न आदेश दिएको थियो ।

मिश्र अधिवक्ताहरू श्यामबहादुर शाही र बसन्त ब्लोनको रोहबरमा छुटेका थिए । तर मुद्दा दायर गर्न जाँदा प्रहरीले मिश्रलाई सम्पर्क गर्ने प्रयास गरेको थियो ।

उनी सम्पर्कविहीन भएपछि प्रहरीले अधिवक्ता शाही र ब्लोनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतले २५÷ २५ हजार रुपैयाँ जरिवाना समेत गरेको थियो । त्यस निर्णयविरूद्ध सर्वोच्च पुगेका शाही र ब्लोनले कार्यान्वयन नगर्न अन्तरिम आदेश पनि लिइसकेका छन् ।

मुद्दा दर्ता गर्दा उपस्थित भएका समितिले तोकेका ’कमाण्डर’ दुर्गा प्रसाईंसहित ३९ जनाको आदेश गत बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले गरेको थियो ।

उक्त इजलासले बिहीबार मध्यराति प्रसाईंसहित ७ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । बाँकीलाई धरौटी माग गर्ने आदेश भएको थियो ।

आदेशपछि सोमबार राप्रपाका सांसद एवं महामन्त्री धवलशम्शेर राणा अदालतमा उपस्थित भएका थिए । अदालतमा उपस्थित भएका उनलाई अदालतले ३ लाख धरौटीमा छाड्न आदेश दिइसकेको छ । उनी पनि धरौटी बुझाएर छुटिसकेका छन् । उनको सुनुवाइ सकेपछि मिश्र मंगलबार अदालतमा हाजिर भएका हुन् ।

यसैगरी, चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शम्शेर राणा पहिलो पटक प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन् ।

 

मंगलबार प्रतिनिधि सभाको बैठक करिब ५ मिनेट बस्यो। त्यस बैठकमा राप्रपा सांसद राणा पनि उपस्थित भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै आएका छन् । उक्त माग अनुसार रास्वपाले मंगलबार पनि वेल घेराउ गरी नाराबाजी गरेका थिए ।

यही विषयमा राप्रपाले पनि रास्वपालाई समर्थन गर्दै विरोध जनाउँदै आएको छ । राप्रपाले आइतबार र सोमबारको बैठक नै बहिष्कार गरेको थियो ।

मंगलबार विरोध जनाउँदा तीनकुने घटनापछि पहिलो पटक उपस्थित भएका सांसद राणाले पनि उभिएर विरोध जनाएका हुन् । उनलाई तीनकुने घटनामा प्रहरीले चैत १५ गतेनै पक्राउ गरेको थियो । उनीविरूद्ध राज्य विरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित कसुरमा अनुसन्धान गरेको थियो ।

त्यसबीच उपचारका लागि भनेर उनलाई सरकारी वकिलको सहमतिमा वेशाख ७ गते हाजिर जमानीमा छाडिएको थियो । उनीमाथि अनुसन्धान भइरहेकोबारे प्रहरीले संघीय संसद सचिवालयलाई पनि जानकारी गराएको थियो ।

 

उनी निलम्बित भने थिएनन्। त्यसो हुँदा संसद जान उनलाई रोकतोक थिएन । राप्रपाका नेताहरूका अनुसार हाजिर जमानीमा रहँदा पनि प्रहरीको नियन्त्रण÷निगरानी सरह नै रहेको हुँदा उनी संसदमा उपस्थित भएका थिएनन् ।

 

जेठ ११ गते प्रहरीले उनीसहित ६१ जनाविरूद्ध मुद्दा दायर गरेको थियो। तर राणा उपस्थित भएनन् । उनी सोमबार मात्रै जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए । उनलाई न्यायाधीश शिवप्रसाद खनालको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशपछि गएराति नै उनले धरौटी बुझाएका थिए । मंगलबार भने उनी संसदमा हाजिर भएका हुन् ।

यसैगरी, प्रतिनिधि सभा बैठक बसेको केही बेरमै स्थगित भएको छ ।

मंगलबार प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले निलो रङको खादा लगाएर बैठकमा सहभागी भएको विषयमा सत्तापक्षले नियमापत्ति जनाएपछि बैठक स्थगित भएको हो ।

भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउनुपर्ने माग राखेर वेल घेराउ गर्दै आएको छ ।

मंगलरबार विरोधको नयाँ तरिका अपनाउँदै रास्वपाका सबै सांसदहरू निलो रङको खादा लगाएर बैठकमा उपस्थित भएका थिए ।

बैठक सुरू भएपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिएका थिए । उनले रास्वपाको जायज मागलाई दुई तिहाईको दम्भ देखाएर पेल्न खोजिएको आरोप लगाइन् ।

त्यसपछि सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापत्ति जनाएका थिए । उनले संसद बैठकमा सहभागी हुँदा मर्यादित पोशाक लगाउनुपर्ने व्यवस्था नियमावलीमै उल्लेख भएको विषयमा सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए ।

‘उहाँहरू सबै स्कार्फ बाँधेर आउनुभएको छ । यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन? जे पनि लगाएर आउने गर्न थालियो भने भोलि कोही हाफ प्यान्टमा आए भने?,’ उनले भने । घिमिरेले अमर्यादित पोशाक लगाएर आउने सांसदहरूलाई सभामुखले चेतावनी दिने र बैठकबाटै निस्कासन गर्ने सक्ने अधिकार नियमावलीमा रहेको पनि जानकारी दिए ।

यस्तै, प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । मंगलबार अपराह्न साढे ४ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरी बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । मंगलबार दिउँसो १ बजेका लागि तय भएको बैठक ढिला गरी सुरू भएको थियो । उक्त बैठक सुरू भएको करिब ५ मिनेटमै आधा घण्टाका लागि स्थगित भएको थियो ।

भिजिट भिसा प्रकरणमा राष्‍ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएको छ ।

मंगलबार पनि वेल घेराउ र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्