भोजपुर, १ असार । भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित भएका हुन् ।
यस क्षेत्र अधिकांश किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएको स्थानीय किसान प्रदीप तामाङले बताए । हाल किसानले पुराना बगानको संरक्षणसँगै नयाँ बिरुवा धमाधम विस्तार गरिरहेको छ ।
यस क्षेत्रका किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका छन् । सुन्तलालाई एकपटक विस्तार गरेपछि सामान्य हेरचाह गरेपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ । अन्य बालीको तुलनामा सुन्तलालाई बाँदरले कम नोक्सान गर्ने भएकाले पनि किसान सुन्तलाको व्यावसायिक खेतीतर्फ आर्कषित भएको छ ।
वडा कार्यालयले सुन्तलाखेतीमा लाग्ने किसानलाई बिरुवा वितरणसँगै प्राविधिक सहयोग गर्दै आएको छ । यहाँको भङ्गेरी तथा पालुवा सुक्खा क्षेत्र भए पनि वडाले सिँचाइका लागि आवश्यक सहयोग गरेपछि किसानलाई सहज भएको छ । सिँचाइका लागि वडाले कुलो निर्माण, प्लाष्टिक पोखरी, पाइप वितरणलगायत काम गरिरहेको छ।
खेती प्रणालीका लागि मुख्य रूपमा सिँचाइको समस्या रहेकाले वडाले कुलो, प्लाष्टिक पोखरी निर्माण तथा किसानका आवश्यकताका आधारमा पाइप वितरण गर्दै आएको हो।
प्रतिक्रिया दिनुहोस्