घोराही (दाङ), १ असार । बबई नदी किनारमा तरबुजा खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले व्यवसायीक रुपमा तरबुजाखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् ।
विगतमा बालुवैबालुवाले उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन गरेर उनी खुशी भएको बताए ।
कृषि विषयका विद्यार्थी रहेका उनी आफ्नै ठाउँमा कृषि पेसाबाट नै जीवनस्तर उकास्नेमा विश्वस्त छन् । उनले , “कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले सात वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, एक जना साथी थपिएपछि अहिले दुईजना मिलेर घोराहीमा व्यावसायिक तरबुजाखेती पनि विगत दुई वर्षदेखि गर्दै आएका छौँ ।” यसबाट राम्रो आम्दानी भइरहेको उनले बताए।
घुस्रामा साढे चार बिघा जग्गा तरबुजाखेतीका लागि भाडामा लिएको उनले बताए। उक्त जग्गाको रु ८० हजार तिर्ने गरेर तीन महिना अवधिका लागि जग्गा भाडामा लिएर तरबुजाखेती गरिरहेका छन् ।
गर्मीको समयमा तरबुजा स्वास्थ्यको हिसावले पनि धेरै महत्व भएको हुनाले त्यहि स्थानमा पुगेर तरबुजा किन्ने गरेका छन् । खेर गइरहेका बगरमा यसरी तरबुजाखेती गर्नसके स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भने सीप र जाँगर भए विदेशिनु पर्दैन भन्ने दरिलो उदाहरण युवा किसानले दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्