पशु प्रजनन कार्यालयद्वारा १७ हजार केजी घाँसको बीउ उत्पादन

राँझा (बाँक), २५ जेठ । खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले करिब १७ हजार केजी विभिन्न घाँसको बीउ उत्पादन गरेको छ । आर्थिक वर्ष २०८१र८२ मा विभिन्न जातको १६ हजार ८४५ केजी घाँसको बीउ उत्पादन भएको राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका प्रमुख वरिष्ठ पशुविकास अधिकृत डा खिमानन्द खनालले जानकारी दिए ।

सबैभन्दा धेरै जै घाँसको आठ हजार ७५५, टियोसेन्टी घाँसको सात हजार ११०, भेच घाँसको पाँच सय, वर्षिम घाँसको चार सय ५० र ज्वाइन्ट भेच घाँसको ३० गरी १६ हजार ८४५ केजी घाँसको बीउ उत्पादन भएको छ । उत्पादन गरेको बीउ किसानलाई पनि बिक्री वितरण गर्ने गरिएको छ । अहिले किसानले पनि घाँसखेती गर्न बीउ खोज्दै आउन थालेको कार्यालय प्रमुख खनालले बताएका छन ।

यस वर्ष जै घाँस प्रतिकेजी रु ८०, वर्षिम दुई सय ७५, भेच एक सय २०, ज्वाइन्ट भेच ८० र टियोसेन्टी एक सय २० प्रतिकेजी बिक्री मूल्य निर्धारण भएको थियो । चालु आवको वैशाखसम्म १० हजार ७७३ केजी घाँसको बीउ बिक्री भएको राष्ट्रिय पशु प्रजनन कार्यालयका पशुसेवा प्राविधिक देवनारायण जैशीले बताए।

सबैभन्दा धेरै जै घाँसको बीउ छ हजार ८७९, टियोसेन्टी तीन हजार ९७, भेच चार सय १२, वर्षिम तीन सय ८१ र ज्वाइन्टभेच तीन दशमलव पाँच केजी बिक्री गरी रु आठ लाख ५९ हजार २७८ राजस्व सङ्कलन भएको उनले बताए।

बाँकेको सदरमुकाम नेपालगञ्जबाट १५ किमी पश्चिमतर्फ रहेको खजुरा गाउँपालिका–२ गौघाटमा करिब ३४ दशमलव चार हेक्टर क्षेत्रफलमा राष्ट्रिय पशु प्रजनन कार्यालय अवस्थित छ । दुई हेक्टरमा वनजङ्गल, दुई हेक्टरमा कार्यालय संरचना र २५ हेक्टर जमिनमा घाँसखेती हुने जैशीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्