काठमाडौँ, १९ जेठ । राजनीतिक परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गतेबाट पोस्टपोन्ड भएको फिल्म ‘महाभोज’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । शनिबार निर्माण पक्षले जेठ ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यो मितिमा फिल्मलाई एकल रिलिजको अवसर मिलेको छ । यसअघि ‘भाइरल गोर्खे’ले उक्त मिति रोजेको भए पनि विभिन्न कारणले फिल्मको रिलिज स्थगन गरिएको छ ।
नयाँ प्रदर्शन मिति घोषणा गर्दै निर्देशक दिनेश राउतले भनेका छन्, ‘हामीले धेरै मिहिनेतका साथ तयार पारेको ‘महाभोज’ केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । यसबाट दर्शकहरूमा असहजता सिर्जना भएकोमा क्षमा प्रार्थी छौँ । अब जेठ ३० गते फिल्म प्रदर्शन हुँदैछ । यो हाम्रो समाजको कथा हो, तपाईँहरूको साथ र मायाले मात्र हामी सफल हुनेछौं ।’
जेठ १३ गते फिल्मको काठमाडौंमा विशेष ‘प्रिम्यू शो’ राखिएको थियो, जहाँ फिल्मकर्मीका साथै ५० बढी सहकारी पीडितहरूको उपस्थिति रहेको थियो । सहकारी ठगी प्रकरणको कथामा आधारित भएर बनेको फिल्म यथार्थपरक रहेको प्रतिक्रिया सहकारी पीडितहरूले दिएका थिए । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले त फिल्म व्यावसायिक रूपमा सफल हुने दाबी नै गरेका थिए ।
विकास सुवेदीको लेखन रहेको फिल्मले सहकारी ठगीको मारमा परेको परिवारको स्थिति, यसले समाजमा पारेको प्रभाव तथा प्रत्येक व्यक्ति कसरी प्रभावित छन् भन्ने कथा मनोरञ्जनात्मक तथा भावनात्मक तरिकाले भन्छ । यसमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतको अभिनय छ ।
फिल्म ‘महाभोज’को अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ । आगामी जुन १ तारिख अर्थात् बैशाख १८ गते आइतबार अस्ट्रेलियाको पश्चिमी शहर पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमामा फिल्मको प्रिमियर आयोजना हुने निश्चित भएको निर्माता हिमाल कडरियाले जानकारी दिए ।
साँझ ६ बजेबाट सुरु हुने प्रिमियरको व्यवस्थापन अस्ट्रेलिया वितरक कम्पनी रोटेपिङ इन्टरटेन्मेन्टले गरिरहेको छ । छोटो समय र तयारीको व्यस्तताका कारण फिल्मका कलाकार भने प्रिमियरमा उपस्थित हुने छैनन् । यद्यपि, केही दिनपछि सबै सहरको शोहरूलाई लक्षित गरेर सहभागी हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्