चितुवा आतङ्कले स्थानीयवासी त्रसित

झापा, १८ जेठ । मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । दिनभरि चिया बगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका खोरबाट बाख्रा, सुँगुर मारेर खाने गरेको मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालले जानकारी दिए । विगत लामो समयदेखि हात्ती र बाँदरको आतङ्क खेपिरहेको बाहुनडाँगीले पछिल्लो १५ दिनयता चितुवाको थप आतङ्क खेप्नुपरेको उनले बताए । हात्तीको नियमित आतङ्क, बाँदरको अस्वाभाविक बिगार खेपिरहेका मेचीनगरबासी अब भने चितुवाको पनि सामाना गरिरहनु परेको छ । अब बालबालिका लाई कसरी जोगाउने भन्ने चिन्ता स्थानीयबासीलाई रहेको छ ।

हालसम्म दुई दर्जनभन्दा बढी खसीबाख्रा र सुँगर मारेर चितुवाले खाइसकेको छ । स्थानीय चिया बगानमा कार्यरत श्रमिक, बिहान बेलुका बाटो हिँड्ने व्यक्ति र स्कुले बालबालिका चितुवाको सम्भावित आक्रमणले त्रसित रहेको अवस्था छ । चितुवाले अहिलेसम्म खसीबाख्रा मात्र मारिरहेको छ, कुनै पनि बेला बालबालिका, बाटो हिँड्ने बटुवा र बगानमा काम गर्ने मानिसलाई आक्रमण नगर्ला भन्न सकिने अवस्था नरहेको बताए ।

उनले डिभिजन कार्यालय झापा, जीवजन्तुका क्षेत्रमा काम गरिरहेका सङ्घसंस्था र व्यक्तिहरूलाई तत्काल यस क्षेत्रमा रहेको चितुवा नियन्त्रणमा पहल गरिदिन सामाजिक सञ्जालमार्फत अपिलसमेत गरेको छ । यस क्षेत्रमा दुई वा सोभन्दा बढी बयस्क चितुवा रहेको दाबीसमेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्