राजावादीहरूको प्रदर्शनले संविधान र व्यवस्थामा परिवर्तन नहुने दावी

 

काठमाडौँ, १८ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राजावादीहरूको प्रदर्शनले मुलुकमा व्यवस्था परिवर्तन नहुने बताएका छन् ।
शनिबार नुवाकोटमा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राजावादीहरूले मानिसहरूलाई भाडामा ल्याएर प्रदर्शनमा सहभागी गराएको दाबी गर्दै त्यसरी हुने प्रदर्शन र जुलुसले व्यवस्था परिवर्तन नहुने बताएका हुन् ।

 

’भाडामा मान्छे ल्याएर कहिलेकाहीँ जुलुस गर्नु सामान्य हो । व्यवस्था र संविधान परिवर्तन असम्भव छ,’ उनले भने । अध्यक्ष प्रचण्डले अव राजावादीहरूसँग एउटा मात्रै विकल्प रहेको बताए । ’चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता उनीहरूलाई छ । त्योभन्दा अरू कुनै तरिकाले संविधान जाने भन्ने हुन सक्दैन,’ प्रचण्डले भने ।

प्रचण्डले शेरा दरबार प्रकरणमा आफ्नो कुनै संलग्नता नभएका कारण छानबिन आफूबाटै सुरू गरियोस् भनेको बताएका छन् । अध्यक्ष प्रचण्डले नियोजित रूपले आफूलाई शेरा दरबार प्रकरणमा जोडेर पार्टी र त्यसको नेतृत्वमाथि षड्यन्त्र गर्न खोजिएको बताएका हुन् ।

’मैले सदनमा उभिएर प्रधानमन्त्री जी तुरून्तै शेरा दरबार प्रकरणमा छानबिन सुरू गरिहाल्नुस् भनेको थिएँ । मैबाट सुरू गरियोस् पनि भनेको थिएँ । छानबिन गर्न आँट हुने स्थिति भएन किनकी मेरो कुनै संलग्नता थिएन । केही पनि छैन । केही नभएकै हुनाले मैबाट सुरू गरियोस् भनेको हुँ,’ उनले भने । उनले त्यस्तै प्रकरणमा मुछिएका अरू नेताहरूले आफैबाट छानबिन सुरू गरियोस् भन्न नसक्ने बताए ।

’अरूले पनि भनेर देखाऊन् । गिरिबन्धु मैबाट छानबिन गरौं भनेर प्रधानमन्त्रीजीले भनुन् त । अरू जग्गाको केसमा अरूले भनुन् त,’ उनले भने । अध्यक्ष प्रचण्डले क्यान्टोनमेन्टको विषय पनि नियोजित ढंगले बेलाबेला उठाउन खोजिने बताए । तर त्यसको हिसाबकिताब सबै मिलिसकेको उनले बताए । ’

त्यो शान्ति सम्झौताको अत्यन्त संवेदनशील विषय हो । त्यसको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गिरिजाप्रसाद कोइरालाले लिनुभएको हो । अर्थमन्त्री रामशरण महत थिए । सबै गरेको उनीहरुले हो ।

यताबाट शान्ति प्रक्रियाको मन्त्री महराज्यू हुनुहुन्थ्यो । सबै हिसाबकिताब क्लिअर भएको विषयलाई उठाइराख्ने र बदनाम मात्रै गर्न खोजियो । माओवादी पार्टी अलि राम्रो हुन थाल्यो र जनताले मन पराउन थाल्यो भने त्यहीबेला उठाइदिहाल्ने प्रचलन छ । त्यसमा कुनै तुक छैन,’ उनले भने ।

यद्यपि उनीहरुको मत कति छ भन्ने विषय यसअघिको चुनाव र उपचुनावमा देखिइसकेको पनि प्रचण्डले बताए । ’उनीहरुसँग पैसा अलिकति छ । चैत १५ गते नै पैसा दिएर आएका हौं भन्ने मान्छेहरू लुटपाटमा लागेको हामीले देखिसकेका छौं । त्यसकारण भाडामा आएका मान्छेले व्यवस्था परिवर्तन, संविधान परिवर्तन गर्ने भन्ने हुनै सक्दैन,’ उनले भने ।

उनले राजावादीहरूको जुलसमा केही मानिसहरू देखिए पनि त्यो पूर्वराजाप्रतिको सम्मान नरहेको बताए । ’त्यो राजाप्रतिको सम्मान भन्दा पनि कांग्रेस र एमाले नेतृत्वको सरकारले गरेको ज्यादतीप्रति जनतामा आक्रोश छ त्यो आक्रोशको अभिव्यक्ति कहिलेकाहीँ त्यहाँ गएर ठोक्किन्छ । त्यसलाई राप्रपाले के–के न हाम्रो भनेर ठान्नु चाहिँ भूल हुन्छ,’ अध्यक्ष प्रचण्डले भने ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र हल्लिँदा सबैभन्दा बढी पीर प्रचण्डलाई पर्नु स्वाभाविक रहेको बताएका छन् । राजसंस्था पुनस्थापनासहित शनिबार आयोजित आन्दोलनको क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

यसअघि आजै प्रचण्डले राजावादीहरूले बढी चुरीफुरी गरेको भन्दै चेतावनी दिएका थिए । प्रचण्डले पैसा दिएर मान्छेहरू काठमाडौंमा ल्याएको आरोप पनि लगाएका थिए ।सोही विषयमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै लिङ्देनले भनेका छन्, ‘गणतन्त्र हल्लिँदा सबैभन्दा ठूलो पीर उहाँलाई पर्नु स्वाभाविक हो । त्यसैले पीर परेको बेलामा के के बर्बराउनुहुन्छ, त्यसलाई अन्यथा मान्दिनँ ।’

प्रचण्डले पैसा तिरेर वा भोज खुवाएर मान्छे काठमाडौं ल्याएको आफ्नै अनुभव सुनाएको हुनसक्ने लिङ्देनको भनाइ थियो ।

‘उहाँले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न टाढा–टाढाबाट मान्छेहरू खोजेर ल्याउनुभएको थियो । पार्टी प्यालेसमा कुन प्रकारको भोज लगाउनुभएको थियो । उहाँहरूलाई थाहा छ,’ प्रचण्डले भने, ‘भोज खुवाएर, पैसा वितरण गरेर मान्छे ल्याउने र जुलुस गर्ने कुरा उहाँले आफ्नो अनुभव सुनाउनुभएको हो । त्यसमा मेरो टिप्पणी छैन ।’ उनले अहिलेको जसैगरी समर्थन जुटेको खण्डमा सरकारलाई झुक्न बाध्य बनाउने पनि बताए ।

‘यसरी नै जनसमर्थन जुट्यो भने हामीले सरकारलाई झुक्न बाध्य बनाउँछौं । जनसमर्थन आवश्यकता अनुसार पुग्न सकेन भने फेरि अर्को चोटि प्रयास गर्छौं । निरन्तर रुपमा लागिराख्छौं,’ लिङ्देनले भने ।

 

प्रतिक्रिया दिनुहोस्