बजेटले जनजीविकाका सवाललाई सम्बोधन नगरेको आरोप

काठमाडौँ, १६ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले बजेटले जनजीविकाका सवाललाई सम्बोधन नगरेको आरोप लगाएका छन । सरकारले बिहीबार प्रस्तुत गरेको वर्ष २०८२÷८३ को बजेटले स्वास्थ्य, शिक्षा, रोजगारी यस बजेटमा ठोस् रुपमा नसमेटिएको प्रतिक्रिया दिएका छन ।

उनले बजेट विगतको एउटा निरन्तरताका रुपमा मात्र सीमित रहेको प्रतिक्रिया दिए । “निरन्तरको प्रक्रियाभन्दा कुनै गुणात्मक परिवर्तन छैन । निजी क्षेत्रका माग केही हदसम्म सम्बोधन भएको भन्ने आएको छ, त्यो सकारात्मक छ”, उनले भने, “स्रोतका हिसावले भन्ने हो भने राजस्वको आम्दानी र खर्चको अवस्था हेर्दा दयनीय अवस्था छ ।”

निरन्तरतामा अहिलेको अर्थ व्यवस्था चल्न नसक्ने जनाउँदै पूर्वअर्थमन्त्री शर्माले त्यसका लागि अर्थतन्त्रको ‘मोडालिटी’ नै बदलेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने बताए । “अहिले त्यसमा जोड दिएको छैन । भन्सार र विप्रेषणमा होइन, आफ्नो उत्पादनमा निर्भर भएर देश चल्ने अवस्था नगर्दासम्म विकासले गुणात्मक फड्को मार्न सक्दैन”, उनले भने ।

 

प्रतिनिधिसभा, अर्थसमिति सभापति सन्तोष चालिसेले भने बजेट उत्कृष्ट आएको प्रतिक्रिया दिन । “बजेट कार्यान्वयन कस्तो हुन्छ भन्नेमा सबैको चासो छ, समग्रमा कृषि र पर्यापर्यटन, ऊर्जालाई प्राथमिकतामा राखेर आएको बजेट युवा लक्षित छ । स्वास्थ्य क्षेत्र, रसायनिक मल, टनेलयातायात लागि समयसीमा तोकेर आएको बजेट राम्रो छ”, उनले भने ।

यस्तै,निजी क्षेत्रले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट बक्तव्यमा समेटिएका विषयवस्तुलाई स्वागत गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा महाङ्सघले दिएका धेरै सुझाव समेटिएको बताए । उनले भने, “निजी क्षेत्रलाई प्रोत्साहन गर्ने ढङ्गबाट बजेट आएको छ, महासङ्घले लगानी प्रवर्द्धन, खनिज निकासीका सम्बन्धमा दिएका सुझावका धेरै बुँदा समावेश भएका छन्, लगानी बोर्डलाई शक्तिशाली बनाउन खोजिएको छ ।”

 

नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आफ्नो संस्थाले दिएका सुझाव बजेटमा समेटिएको प्रतिक्रिया दिए । उनले भने, “यो बजेटलाई महत्वकाङ्क्षी रुपमै लिएको छु । निजी क्षेत्रले दिएका धेरै सुझाव र माग बजेटमा परेका छन् । अहिलेको विषयम परिस्थितिमा स्रोत बाँडफाँट प्रणाली राम्रो छ । राजस्व सङ्कलनको प्रक्षेपण पनि ठिकैछ ।”

नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टङ्कप्रसाद पोखरलले मुलुकको अर्थतन्त्रको दवावकाबीचमा ल्याइएको बजेटमा निजी क्षेत्रका राय, सुझाव र परामर्शलाई अनुसरण गरिएको प्रतिक्रिया दिए । उनले भने, “निजी क्षेत्रलाई उत्साह दिन खोजिएको पाइएको छ, सरसर्ती हेर्दा बजेट सकारात्मक दिशातर्फ उन्मुख छ । उद्यमशीलतालाई जोड दिन खोजिएको छ ।”

चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्राले निजी क्षेत्रले उठाएका धेरै कुरा समेटिएको र राम्रो बजेट आएको बताए । “नेपालीलाई विदेशमा लगानी गर्न पाउने बाटो खुलेको छ, हामीले यसलाई बारम्बार उठाउँदै आएका थियौँ”, उनले भने ।
चेम्बरका पूर्वअध्यक्ष राजेन्द्र मल्लले बजेटले राजस्व सङ्कलनमा कठिन देखिएको भए पनि समग्रमा आइटी क्षेत्रलाई समेटिएर आएको बजेट राम्रो रहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्