गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था हो : राष्ट्रपति 

काठमाडौँ, १५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था रहेको बताएका छन् । राष्ट्रपति पौडेलले यसलाई नेपालमा सङ्घीयता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यसहितको समाजवादको सारगर्वित मान्यताहरूले सिञ्चित गरेर थप सर्वोत्कृष्ट बनाइएको बताए ।
हाल गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताएका छन् । गणतन्त्र दिवस, शुभकामना दिँदै उनले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धि मात्र पर्याप्त नहुने भन्दै त्यसका लागि हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्दछ तर्क गरे ।
यस्तै, शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड रहेको छ । शुभकामना सन्देशमा उनले, “हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ । गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु ।” भनेका छन् ।
राष्ट्रपति पौडेलले उपलब्ध स्रोतको अधिकतम प्रयोगगरी नागरिकको जीवनस्तर बदले मात्रै आशा जागृत हुने उल्लेख गरेको छ ।  उनले सन्देशमा भनेका छन्, “हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जालगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौँ, अनि मात्र आर्थिक विकास र समृद्धि प्राप्त हुन्छ र गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न सक्छौँ । त्यसले मात्र नयाँ आशाहरू निर्माण हुन सक्छन्, हाम्रो गणतन्त्र सफल, सबल र परिणाममुखी हुँदै जान्छ, यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो ।”
राष्ट्रपति पौडेलले गणतन्त्र केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो आचरणशील राजनीति, आर्थिक र सामाजिक जीवन पद्धति पनि भएको उल्लेख गर्दै यसका मूल्यमान्यता र नैतिक दायराहरूलाई भुलेर इतिहासको अभिभारा पूरा गर्न नसकिने बताए । “यस अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ, म आशा गर्छु हामी यो दायित्व बिर्सने छैनौँ । गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ समृद्ध बनाउन हामी सबै एकताबद्ध भएर लाग्नेछौँ ”,उनले सन्देशमा भने, “आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्ने थप प्रेरणा दिनेछ ।”
उनले यस व्यवस्थाले सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको र देशवासीलाई जोडेको छ भन्दै एक साझा राष्ट्र बनाउने सङ्कल्पका साथ आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको स्मरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्