काठमाडौँ, १५ जेठ । सभामुख देवराज घिमिरेले भ्रष्टाचार, असमानता र शासकीय कमजोरीजस्ता विषयमा निर्मम हुँदै समृद्ध, समावेशी र न्यायपूर्ण नेपाल निर्माण गर्नु नै गणतन्त्रको साँचो सम्मान हुने बताएका छन् । १८औँ गणतन्त्र दिवसका अवसरमा आज देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै सो कुरा व्यक्त गरेको हो ।
उनले गणतन्त्रको भावना केवल संवैधानिक संरचना परिवर्तनमा सीमित रहनु हुँदैन भन्दै गणतन्त्र जनसरोकार, सुशासन, पारदर्शिता र समावेशिताको जीवन्त अभ्यासका साथै समृद्धिको बलियो आधारमा रूपान्तरित हुनुपर्ने बताए । सभामुख घिमिरेले लोकतान्त्रिक गणतन्त्रमा देखिएको गणतन्त्रविरोधी गतिविधि केवल संविधानको अवमूल्यन मात्र नभई सहिदहरूको अपमान पनि भएको टिप्पणी गरे। उनले आन्दोलनका सपना र बलिदानमाथि प्रहार गर्ने कुनै पनि चाहनालाई सम्पूर्ण राजनीतिक दल तथा नेपाली जनता एकजुट भएर अस्वीकार गर्नुपर्नेमा जोड समेत दिए ।
नेपाली जनताका प्रतिनिधिमार्फत विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र दिवस जनताको बलिदानीपूर्ण सङ्घर्षलाई स्मरण गराउने प्रत्येक नेपालीको साझा गौरवको दिन रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्