काठमाडौं १४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले गणतन्त्रमाथि आक्रमण भइरहेका बेला कसैले पनि मौनता साँधेर बस्नु नहुने बताएका छन ।
प्रेस चौतारी नेपालले मंगलबार आयोजना गरेको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रविरुद्ध कसैलाई पनि जान छुट नभएको बताए ।
उनले गणतन्त्रविरुद्ध आक्रमण हुँदा एमाले मुकदर्शक बनेर नबस्ने बताए । “अरू पार्टी र सङ्गठन के गर्दछन् त्यो उहाँहरुको नीति र निष्ठाको विषय हो”, उनले भने, “एमाले गणतन्त्र विरोधीलाई निस्तेज पार्न र गणतन्त्रको पक्षमा माहोल बनाउन सधैँ अग्रपङ्क्तिमा हुनेछ ।”
स्थायी कमिटी सदस्यसमेत रहेका गौतमले यही जेठ १५ गते मनाउन थालिएको गणतन्त्र उत्सवलाई सफल पार्नका लागि प्रेस चौतारीले प्रचारप्रसारको कामलाई तीव्र गति दिन निर्देशन दिए । उनले सबै प्रकारका सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई समेत कार्यक्रमका पक्षमा माहोल बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन ।
अध्यक्ष गणेश पाण्डेले उपत्यकामा रहेका सबै कमिटीलाई गणतन्त्र उत्सव सफल बनाउन सहभागी हुन निर्देशन दिए । उनले प्रेस चौतारीले आजैदेखि आम सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत कार्यक्रमको व्यापक प्रचार गर्नुपर्ने बताए । एमालेले गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको छ ।
यसैगरी, नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीले यही जेठ १५ गते मनाउन लागिएको गणतन्त्र उत्सव कसैको विरोध लक्षित नभएको बताएका छन । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पार्टीका विभागका सदस्यहरुको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले गणतन्त्र नेपाली जनताको सबैभन्दा ठूलो उत्सव भएकाले जनताको विजयका रुपमा मनाउन लागेको जानकारी दिए ।
“जनताको बलिदानी सङ्घर्षबाट प्राप्त लोकतन्त्र, गणतन्त्र जोगाउन जनताले यो दिन हाम्रो दिन हो भन्ने अनुभूति दिलाउन पनि एमालेले उत्सवका रुपमा झाँकीसहित मनाउन लागेको हो”, उनले भने ।
महासचिव पोखरेलले गणतन्त्र–लोकतन्त्रको बारेमा विद्यालय तहको पाठ्यक्रममा राख्न आवश्यक रहेको बताए । उनले गणतन्त्रपछि जन्मिएका युवाले बलिदानीपूर्ण सङ्घर्षबाट लोकतन्त्र–गणतन्त्र स्थापना भएको हो भन्ने जानकारी दिन पनि विद्यालय शिक्षामै लोकतन्त्र र गणतन्त्रबारे पढाउनुपर्ने आवश्यकता औँल्याए ।
प्रतिक्रिया दिनुहोस्