जेठ २३ देखि प्रदर्शनमा आउने फिल्म ‘जन्ते बाख्रो’को प्रचार अभियान तीव्र

काठमाडौं, १३ जेठ । जेठ २३ गतेदेखि प्रदर्शनमा आउने ‘जन्ते बाख्रो’ फिल्मको प्रचार अभियान तीव्र पारिएको छ । निर्माण पक्षले नेपालको पूर्वी क्षेत्रबाट प्रचार सुरु गरेको हो । निर्माता सन्तोष गौतमका अनुसार, पूर्वी नेपालदेखि पश्चिमसम्मका विभिन्न जिल्लाहरूमा फिल्मका प्रचार सामग्रीहरू व्यापक रूपमा प्रदर्शन गरिएको छ ।

 

“हामीले राम्रो फिल्म बनाएकाले यसको जानकारी दर्शकमाझ पुर्याउन अथक प्रयास गरिरहेका छौं । झापाका मुख्य शहरहरूमा फिल्मका पोस्टर तथा अन्य प्रचार सामग्री राखिसकेका छौं । हाम्रो लक्ष्य देशभर ‘जन्ते बाख्रो’मय वातावरण सिर्जना गर्नु हो,“ उनले भने । फिल्मका सार्वजनिक गरिएका तीन गीत ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’ र ‘मुकु मुकु म्या’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका छन् ।

 

फिल्मको ट्रेलर सोमबारदेखि इन्टरनेटमा उपलब्ध हुनेछ । गीत, संगीत तथा ट्रेलर डिजिटल पार्टनर जी टूवान डिजिटलमार्फत हेर्न सकिनेछ । सिमोस सुनुवारको निर्देशनमा बनेको यस फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी लगायतका कलाकारको अभिनय रहेको छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक सुनुवारका अनुसार, यो फिल्म विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई ‘जन्ते बाख्रो’ खुवाउने परम्परामा आधारित सामाजिक कमेडी कथावस्तुमा केन्द्रित छ ।

 

फिल्ममा हरि हुमागाईंको डिओपी, उत्तम हुमागाईंको छायांकन तथा सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने यो फिल्मको डिजिटल अधिकार जी टु वान डिजिटलले खरिद गरेको छ । निर्माण पक्षका अनुसार, फिल्म जेठ २३ गते नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्