राजावादीहरूको आन्दोलनविरुद्ध एमाले सशक्त प्रतिवादमा उत्रने

काठमाडौँ, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गणतन्त्र दिवसका अवसरमा आयोजना गर्ने उत्सवलाई सफल पार्न पार्टीका शीर्षनेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जनसङ्गठनका अध्यक्ष, इन्चार्ज र काठमाडौँ उपत्यकाका वडा तहसम्मका पदाधिकारीको भेलाले उत्सवसँगै शक्ति परिचालन गर्न नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको हो ।
भेलामा महासचिव शङ्कर पोखरेलले गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीले फैलाएका भ्रम चिर्न जनप्रदर्शनको तयारी गरिएको बताए । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनमानस परिचलान गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । कोशी प्रदेशका जिल्लाहरुको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी दिएको छ । मधेश प्रदेशका आठवटै जिल्लाका सम्पर्क मञ्चहरुको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ  ।
यस्तै उपत्यकाका जनप्रदर्शनमा ठूलो सङ्ख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरु क्रमशः अष्टलक्ष्मी शाक्य र गुरु बराललाई जिम्मेवारी तोकिएको छ । उपत्यकाबाहेक बागमती प्रदेशका १० जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ ।
स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई, बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदीप ज्ञवाली, सुदूरपश्चिम प्रदेश सम्पर्क समन्वय र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट तथा लुम्बिनी र गण्डकीका सबै जिल्ला समन्वयको जिम्मा सचिव पद्मा अर्याललाई तोकिएको छ ।
यसैगरी, जनसङ्गठनहरुको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई, उपत्यका विशेषको संयोजन सचिव योगेश भट्टराईलाई र सबै विभागको संयोजनको जिम्मेवारी सचिव छविलाल विश्कर्मालाई दिइएको छ । गणतन्त्र दिवशका दिन  जेठ १५ गते बिहान भृकुटीमण्डपमा एमालेका नेता तथा कार्यकर्तालाई झाँकी, जुलुस र आफ्नो पार्टी, जनसङ्गठनको पहिचानसहित उपस्थित हुन आजको भेलाले निर्देश गरेको छ । आइतबार बसेको सचिवालय बैठकले गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।
पार्टीका सम्पूर्ण पदाधिकारी नै परिचालित गर्नुको अर्थ एमालेले १५ जेठलाई विशेष महत्व दिएको प्रष्ट हुन्छ । ‘सात दशक लामो बलिदानीपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गणतन्त्रको रक्षार्थ हामीले सडकबाट प्रतिबद्धता जनाउँदैछौं,’ एमाले प्रचार विभाग प्रमुख ज्ञवाली भन्छन्, ‘एमालेको तयारी र उत्सवलाई कसैका विरुद्ध भनेर बुझ्न हुन्न ।’
महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरोधीहरु जनविरोधी भएको बताएका छन ।
एमाले बागमती प्रदेश कमिटीले पार्टीबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि जनताका विरुद्धका गतिविधि भएको बताए । गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध सिङ्गो पार्टी एक ढिक्का भएर लाग्नुपर्ने उनको भनाइ थियो ।
“लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधि जनताको सम्प्रभुताका विरुद्धका अर्थात् जनताका विरुद्धका गतिविधिहरू हुन् भन्नेमा आम जनतालाई सचेत र जागरुक बनाउने अभियानमा सिङ्गो पार्टी पङ्क्ति क्रियाशील हुनु पर्दछ,” महासचिव पोखरेलले भने । उनले गणतन्त्र दिवस जनताको उत्सवको दिन भएकाले पार्टीले विशेष उत्सवका रूपमा मनाउन लागिएको बताए ।
एमालेले गणतन्त्र दिवसलाई विविध कार्यक्रमको आयोजना गरी उत्सवका रूपमा मनाउन आमजनसमुदायलाई आह्वानसमेत गरेको छ । महासचिव पोखरेलले प्रदेश कमिटी र जिल्ला कमिटीले विभिन्न सङ्घसंस्थालाई गणतन्त्र दिवस उत्सवका रूपमा मनाउनका लागि विविध प्रकारका रचनात्मक कार्यक्रम आयोजना गर्न प्रेरित गर्नेसमेत बताए । उनले आवश्यकताअनुसार उपत्यकाको हकमा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रदेश तथा जिल्लाले नेतृत्वलाई परिचालन गरिने जानकारी दिएका छन ।
यस्तै, त्यही दिनबाट राजावादीहरूले पनि आन्दोलनको घोषणा गर्ने तयारी गरिरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतामा राजावादीहरू एकताबद्ध देखिएका छन् । राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट लगायत एकजुट भएर आन्दोलन सुरु गर्ने तयारीमा छन् ।
राजावादीहरू एकताबद्ध भएर आन्दोलन अगाडि बढाउने भएपछि त्यसको प्रतिवादमा एमाले उत्रने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्