काठमाडौँ, १२ जेठ । त्रिभुवन आर्मी क्लबले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ दोस्रो जित निकालेको छ । विभागीय डर्बीमा आर्मीले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
आइतबारको अन्तिम खेलमा आर्मीले एपिएफलाई २५–१३, २५–२० र २५ –२२ मा माथ दियो । चौथो खेलमा दोस्रो जितका साथ आर्मीले ५ अंक बनाएको छ । चार खेलमा १ जित र तीन हार सहित एपिएफसँग मात्र ३ अंक छ ।
आइतबारै गण्डकी प्रदेशले लगातार चौथो जित निकाल्दै फाइनल पुग्ने संभावनालाई मजबुत बनाएको छ । गण्डकीले मणिमुकुन्द भलिबल क्लबलाई सहजै ३–० ले हरायो। यो जितमा गण्डकीले हेल्प नेपालले जतिकै १२ अंक जोडे पनि सेट अन्तरको कारण लिग तालिकाको दोस्रो स्थानमा छ ।
आइतबारै हेल्प नेपालले २५–२१–२५–२० र २५–२२ को सोझो सेटको जित दर्ज गर्यो । लगातारको चौथो जितमा उसले १२ अंक बनाएको छ । हेल्प नेपाल लिग तालिकाको शीर्षस्थानमा रहेको छ । तेस्रो हार बेहोरेको कोशीसँग मात्र ३ अंक रहेको छ । उसले एक खेले जितेको थियो ।
त्यसअघि नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले खेलमा एकपक्षीय दबाब बनायो । टोलीले २५–१९, २५–९ र २५–१९ को सहज जित आफ्नो पक्षमा पार्यो । पुलिसको यो दोस्रो जित हो ।
यसअघि आइतबारै महिलातर्फ पुलिस र टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले लगातार तेस्रो जित हात पारेका छन् । पुलिसले एपिएफलाई ३–१ ले हरायो । यो जितमा पुलिस अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
पहिलो सेट पुलिसले २५–१९ ले जित्यो । तर दोस्रो सेट भने २४–२६ ले गुमाउन पुग्यो । दोस्रो सेटको समाप्तीमा खेल १–१ को बराबरीमा पुग्यो । तर एपिएफले दोस्रो सेटको लयलाई निरन्तरता दिन सकेन । पुलिसले तेस्रो सेट २५–१८ र चौथो सेट २५–२१ जित्दै खेल आफ्नो पक्षमा पार्यो । ९ अंक सहित पुलिस शीर्षस्थानमा उक्लिएको छ । एपिएफसँग ६ अंक छ । तेस्रो खेलमा उसको यो पहिलो हार हो ।
पहिलो खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले माथ दियो । पहिलो सेट गुमाएर पनि न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको छ । न्यु डायमण्ड २१–२५,२५–१४,२५–२१,२५–२१ ले विजयी भयो । लगातार ३ जितपछि ९ अंकसहित न्यु डायमण्ड अंक तालिकाको दोस्रो स्थानमा छ । न्यु डायमण्ड सेटको आधारमा दोस्रो स्थानमा छ । आर्मी लगातार तेस्रो खेलमा पराजित भएको छ ।
नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ । सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
लिगको महिलातर्फ फाइनल पुग्ने २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ । प्रतियोगिताको हाम्रो खेलकुदको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्