ठग्ने र चोर्ने आठजना पक्राउ

भक्तपुर, ९ जेठ । ‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चारी गर्ने गिरोहका सात जनालाई प्रहरीले बुधबार एकैदिन पक्राउ गरेको छ ।
भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।
पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए । यसैगरी, मध्यपुरथिमि नगरपालिका–८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय अबिन श्रेष्ठ, मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने १९ वर्षीय पेम्बा मोक्तान, सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष गोले, सुनसरी जिल्ला घर भई काठमाडौँ  नारायणटार बस्ने १८ वर्षीय रितेश राई, कास्की पोखरा महानगरपालिका–१ घर भई नारायणटार बस्ने १८ वर्षीय सुजन गुरुङ, रौतहट घर भई नारायणटार बस्ने १८ वर्षीय अनिल तामाङ र मकवानपुर मनहरी–२ घर भई काठमाडौँ बस्दै आएका १८ वर्षीय विक्रम तामाङ रहेका छन् ।
पक्राउ परेकाहरूले विभिन्न समयमा मध्यपुरथिमि बोडेबाट बा५७प ९९५७ नंको स्कुटर, बा७७प ३३५९ नंको स्कुटर चोरी गरेको र चोरीको स्कुटरसहित पक्राउ गरेको प्रहरी नायब निरीक्षक नेउपानेले जानकारी दिए । पक्राउ परेका सबैलाई चोरी कसुरमा म्याद थप भई अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।
यस्तै, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बुधबार एकजनालाई पक्राउ गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्ने सुनसरी इनरूवा नगरपालिका घर भएका ३२ वर्षीय रमेशकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई दक्षिण कोरिया पठाइदिन्छु भन्दै तीनजनाबाट  २६ लाख ८० हजार लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजलाई काठमाडौँ पेप्सीकोलाबाट पक्राउ गरेको हो  । यादवलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
यस्तै, ठगीमा संलग्न रहेको अभियोगमा गिल्ट ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक काठमाडौँ महानगरपालिका–२६ लैनचौर बस्ने २१ वर्षीय श्रृजेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले जर्मनीमा हुन लागेको अन्तरराष्ट्रिय अपाङ्गता सम्मेलन २०२५ मा सहभागी हुने व्यक्तिहरूका लागि हवाई टिकट, टर्कीको ट्रान्जिट भिसा र होटल बुकिङसमेत गरी दिन्छु भनी नक्कली कागजात बनाई  चार लाख ३० हजार ठगी गरेको भन्ने उजुरी परेको थियो । निजलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्