राजावादीद्वारा जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा

काठमाडौँ, २६ वैशाख । राजावादी समूहले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ ।
बिहीबार राजसंस्था पुनस्र्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जन आन्दोलन समितिले पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा उनले राजसंस्था स्थापना नभएसम्म आन्दोलन जारी रहने समेत बताए । सुवेदीले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए । जनआन्दोलन घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत सहभागी थिए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म राष्ट्रवादीहरुको आन्दोलन नरोकिने बताएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई धन्यवाद दिँदै थापाले राष्ट्रवादी आन्दोलनलाई सफल पार्ने जिम्मेवारी लिङ्देनको काँधमा पुगेको थापाको भनाइ छ ।

राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा थापाले यस्तो बताएका हुन् ।

‘हामीहरु हिन्दु राष्ट्रको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने प्रतिवद्धताका साथ एक ठाउँमा भेला भएका छौ’, थापाले भने, ‘हाम्रो एकतालाई अब कसैले चाहेर पनि कमजोर पार्न र फुटाउन सक्दैन ।’

उनले राष्ट्रवादी शक्तिहरु एकतावद्ध भएर चाँडै भ्रष्ट व्यवस्था र कुशासनबाट मुलुकलाई मुक्त तुल्याउने भन्दै उनले हिन्दु राष्ट्रको पुनःस्थापना गरी आर्थिक सुशासन कायम गने दाबी समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्