काठमाडौं, २४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उनको मंगलबार उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उनि सूचना तथा सञ्चारमन्त्री थिए । यसैगरी उनले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।
एमालेको पोलिटब्युरो सदस्य रहिसकेका उनले पत्रकारिता एवं साहित्य विधामा निरन्तर कलम चलाउदै आएका थिए । नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गरेका थिए ।
उनि २०५६ सालमा काठमाडौ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने त्यसअघि राष्ट्रियसभा सदस्य रहेका थिए ।नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक भएका नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय थिए ।
भूमिगत कालमा उनि सञ्जय थापाका नाममा परिचित थिए । नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा भएको थियो । उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री प्रकाशमान सिंहले स्व नेपालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पुगेर उपप्रधानमन्त्री सिंहले श्रद्धाञ्जली अर्पण गरेका हुन । नेपालको मंगलबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्