अभिनेत्री रेखा थापाले नाटकमा डेब्यु गर्ने

 

काठमाडौँ, १८ वैशाख । केही वर्षयता रंगमञ्च र फिल्ममा कलाकार आदानप्रदानको सिलसिला चलिरहेको छ । नाटकका कलाकारहरु फिल्ममा आइरहेका छन् भने फिल्मका चर्चित अनुहारहरुले नाटक गरिरहेका छन् ।

यसैबीच, अब अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाले पनि नाटकमा डेब्यु गर्ने भएकी छन् । आफ्नो नयाँ फिल्म ‘३६ को आँकडा’को छायांकनभन्दा अगाडि उनले नाटकमा अभिनय गर्न लागेकी हुन् ।

दीपक सिंजालीद्वारा लिखित उपन्यास ‘मीरा’मा आधारित भएर मञ्चन हुन लागेको नाटकमा रेखाले मीरा पात्रको भूमिकामा अभिनय गर्ने जानकारी प्राप्त छ । उनले नाटकको रिहर्सल सुरु गरिसकेकी छन् ।

उनले केही दिनअघि ‘मीरा’ पुस्तक हातमा लिएर खिचेको एउटा तस्वीर फेसबुकमा सेअर गर्दै ‘रेखा कि मीरा ?’ भनेर लेखेकी थिइन् । उनी नाटकमा अभिनय गर्न उत्साहित देखिएकी छन् ।

उक्त नाटक फिल्म सम्बन्धी अध्यापन गराउँदै आएको संस्था कान्तिपुर फिल्म एकेडेमी अन्तर्गतको कान्तिपुर थिएटरले मञ्चन गर्नेछ । आगामी जेठ १५ गतेदेखि असार ७ गतेसम्म नाटक मञ्चन हुने जनाइएको छ ।

कान्तिपुर थिएटरले मञ्चन गर्ने यो नै पहिलो नाटक हुनेछ । अहिले गैरिधारामा थिएटर निर्माण भइरहेको छ । गत चैतमा अभिनेता राजेश हमालले थिएटरको शिलान्यास गरेका थिए ।

उपन्यास ‘मीरा’मा समाजले पचाउन इन्कार गर्ने जटिल प्रेमकथा छ । प्रेम, सामाजिक न्याय लगायत विषयमाथि केन्द्रित उपन्यासमा हाडनाता सम्बन्ध जस्ता कुरालाई पञ्च भलाद्मीहरू बसेर मिलाउने सामाजिक न्याय व्यवस्था ठिक होइन भन्ने देखाउन खोजिएको छ ।

उक्त उपन्यासलाई नाट्य रूपान्तरण कलाकार सुन्दर धितालले गरिरहेका छन् भने नाटकको निर्देशन पनि उनी स्वयंले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्