एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आसामसँग कोशी प्रदेश पराजित

काठमाडौँ, १८ वैशाख । मन मोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा भारतको आसाम क्रिकेट क्लबसँग कोशी प्रदेश पराजित भएको छ ।

बैजनाथपुर क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा आसामले कोशी प्रदेशलाई ९७ रनले पराजित गरेको हो । २ सय १० रनको लक्ष्य पछ्याएको कोशी ३७.२ ओभरमा १ सय १२ रनमा अल आउट हुन पुग्यो ।

ब्याटिङमा फितलो प्रदर्शन गरेको कोशीको लागि आइस भट्टराई र बिपिन महतोले सर्वाधिक १५÷१५ रन बनाए । चिराग शाहले ११ रन जोडे । यी तीन बाहेक अन्यले दोहोरो रन छुन सकेनन् । बलिङमा तापन कुमार शर्मा र गोकुल शर्माले समान ३ विकेट लिए ।

राज विश्वले २ विकेट झारे । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आसाम क्रिकेट क्लबले ४७ ओभर ३ बलमा सम्पुर्ण विकेट गुमाउँदै २सय ९ रन बनाउन सफल रहयो ।

आसामको लागि कप्तान गोकुल शर्माले सर्वाधिक ७८ रनको सानदार पारी खेले । उनले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अरुण सोनारले ५१ रन जोडे । यस्तै राज विश्वले २४ र केभिन संजिवले १५ रन बनाएका थिए ।

कोशीको लागि देब्रे हाते स्पिनर प्रेम कामतले सर्वाधिक ४ विकेट लिए । बिपिन कुमार महतो र भुपाल लुइँटेलले समान २ विकेट झारे ।
हिजो कोशीले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो ।

तर आज आसामसँगको हार पछि समुह ‘बी’ बाट फाइनल पुग्ने टिमको निर्णय भोलि हुने नेपाल पुलिस क्लब र आसाम बीचको खेलले तय हुनेछ । आसामले पुलिसलाई पराजित गरेको खण्डमा आसाम दुवै जितको साथ समुह विजेताको हैसियतले फाइनल पुग्नेछ ।

यदी पुलिस विजयी भएको खण्डमा पुलिस, कोशी र आसाम मध्ये नेट रन रेटमा अघि हुने टिम फाइनल पुग्नेछ । समुह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल शनिवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्