कञ्चनपुर, १८ वैशाख । ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ समापन भएको छ । बुधबार कञ्चनपुरमा जागरण अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ राष्ट्रिय अभियान बनेको बताएका छन् ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यो अभियान माओवादीको मात्रै नभएर राष्ट्रिय अभियान बनेको दाबी गरेका हुन् । ‘यहाँसम्म आइपुग्दा यो माओवादीको मात्र अभियान रहेन । यो राष्ट्रिय अभियान भयो ।
तराई–मधेशमा रहेका सबै राजनीतिक दलहरूको साझा अभियान बन्न पुग्यो,’ उनले भने । उनले अगाडि भने, ‘यति धेरै मागपत्र प्राप्त भएका छन् । यति धेरै सुझाव, आलोचना र टिप्पणीहरू प्राप्त भएका छन् । एउटा ठेली बन्नेवाला छ ।
हामी ठेली बनाउने वाला पनि छौं ।’ तराई–मधेशका विकासका समस्या चुनौती र समाधान कसरी हुन्छ भन्ने बारेमा राष्ट्रिय सहमति र समझदारी बन्ने स्थिति तयार भएको उनको भनाइ छ । ‘साँच्चै यो अभियानले अभूतपूर्व राष्ट्रिय एकताको आधार तयार पारेको छ । एउटा नयाँ आर्थिक क्रान्तिको आधार तयार पारेको छ ।
एकअर्काको विश्वास, नेतृत्व र जनता बीचमा अन्तरसम्बन्धको सुदृढीकरण र नयाँ आयाम थपेको छ,’ उनले भने । उनले अगाडि भने, ‘हामीले साँच्चै एउटा ऊर्जा प्राप्त गरेका छौं । हामी जनतासँगै बस्यौं, जनतासँगै खायौं ।
शहीद बेपत्ता परिवारसँगै बस्यौं । उनीहरूसँगै खायौं, रौयौं, हाँस्यौं । यो सबै क्रियाकलाप जसरी ग¥यौं, त्यसले भावानात्मक नयाँ सूत्रको विकास पनि भयो भन्ने विश्वास लिएका छौं ।’ हुलाकी राजमार्ग केन्द्रित माओवादीले यो अभियान गत १२ फागुनमा झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट सुरु गरेको थियो ।
बीचमा रोकिँदै फेरि सुरु हुँदै गरेको यो अभियान दुई महिनापछि बुधबार कञ्चनपुर पुगेर समापन भएको हो ।
यस्तै,अध्यक्ष प्रचण्डले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट आधार तयार गर्नुपर्नेमा जोड दिएका छन ।
बेलौरी नगरपालिको पर्यटकीयस्थल सोभताल परिसरमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट कृषि, वन, स्वास्थ्य, शिक्षा, रोजगारी, उद्योगलगायतमा जोड दिन सुझाव दिए ।
उनले भने, “कृषिलाई आधार बनाएर त्यसमै आधारित उद्योग स्थापना गरी अगाडि बढ्न सके अर्थतन्त्रमा टेवा पुग्ने छ । अहिलेको युग सूचना प्रविधिको युग भएकाले आइटी क्षेत्रलाई आत्मसात् गरी अगाडि बढ्नुपर्छ ।”
गणतन्त्र आएपछि थालनी गरिएको मध्यपहाडी लोकमार्ग निर्माण अन्तिम चरणमा पुगेको चर्चा गर्दै उनले हुलाकी राजमार्ग निर्माणको कार्य अगाडि बढेको बताए । “गणतन्त्र आएपछि केही भएन भने भाष्य ठीक होइन”, उनले भने, “थुपै विकास निर्माण, भ्रष्टाचार निवारणका कार्य भएका छन्, जनताले अपेक्षा गरेअनुसार जति हुनुपर्दथ्यो, त्यो हुन सकेको छैन ।”
यसअघि अध्यक्ष प्रचण्डले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका अध्यक्ष प्रचण्डले सहिद परिवार सम्मान कार्यक्रममा ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताए ।
अध्यक्ष प्रचण्डले सहिद, बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताए । सहिदले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्दै उनले सहिद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको बताए ।
जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन सक्दैन भने । त्यस अवसरमा उनले सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
यसैबीच, बेलौरी नगरपालिकाको रामपुरस्थित खानेपानी आयोजाको अध्यक्ष प्रचण्डले उद्घाटन गरेका छन । सोही नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालको पनि उनले अवलोकन गरेका छन ।
बुधबारै अध्यक्ष प्रचण्डले पुनर्वास नगरपालिका–५ शोभाताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारका सदस्यहरूसँग भेट गरेका छन । भेटमा उनले सहिदहरूको बलिदानलाई खेर जान नदिने र न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहो¥याएका छन ।
प्रतिक्रिया दिनुहोस्