बुटवल–नारायणगढ सडक र सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध

मध्यविन्दु (नवलपरासी), २८ चैतः पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो ।

विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् ।

दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ः०० बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो । त्यसैगरी, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ ।

यसैगरी, वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा पन्छ्याएपछि सञ्चालनमा आएको छ । रास्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले बताउनुभयो । “अहिले पहिरो पन्छाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “आज नै सडक सञ्चालनमा आउँछ ।”

प्रतिक्रिया दिनुहोस्