चैत २९ बाट प्रदर्शनमा आउने फिल्म ‘कर्मा’कोे गीत सार्वजनिक

काठमाडौँ, २० चैत । नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कर्मा’को ‘पागल’ बोलको गीत सार्वजनिक गरिएको छ ।

गायक सुशान्त केसीको स्वरमा रहेको फिल्म ‘कर्मा’को ‘पागल’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । गायक केसीकै युट्युब च्यानलबाट सोमबार सार्वजनिक गीतमा उनी स्वयंको शब्द रचना तथा संगीत छ । उनले फिल्मका लागि पहिलो पटक गीत गाएका हुन् ।

गीत सार्वजनिक नहुँदै यसको हुकलाइन ‘भनुँ के म पागल पागल जस्तै’ टिकटक जस्ता प्लेटफर्ममा चर्चित भइसकेको छ ।फिल्मका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री उपासना सिंह ठकुरीमाथि फिल्मांकन गरिएको गीतको भिडियोमा गायक केसी पनि फिचर्ड छन् ।

विपिन र उपासनाबीचको प्रेमलाई भिडियोमा चित्रण गरिएको छ । एकले अर्काको आँखामा देखेको प्रेमको गहिराइलाई सुशान्तले गीतमा उतारेका छन् । गीतको शब्द तथा लय सुशान्तको आफ्नै फ्लेबरमा छ ।

फिल्ममा विपिन र उपासनासहित मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय छ । यसमा विपिन एक्सन भूमिकामा छन् । मुकुनलाई भने नकारात्मक भूमिकामा देख्न सकिनेछ ।

सौरभ चौधरीको निर्देशन तथा वसन्त लम्सालको लगानीमा तयार भएको ‘कर्मा’मा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, निमेष श्रेष्ठको सम्पादन तथा उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर छ ।

यो फिल्ममा चर्चित गायक दुर्गेश थापाको पनि गीत समावेश गरिएको छ । उनको गीत अर्को साता सार्वजनिक गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्