संरक्षक रेशम चौधरी पक्राउ, एकता घोषणा कार्यक्रम स्थगित

 

काठमाडौं, १७ वैशाख । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ ।

ती दुई पार्टीबिच ११ बजेका लागि घोषणा कार्यक्रम राखिएको थियो तर चौधरी पक्राउ परेपछि आजको घोषण कार्यक्रम स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए ।

उनले रेशम चौधरी पक्राउ परेकोमा भर्त्सना गर्दै पार्टी एकीकरण हुनै लाग्दा चौधरीलाई प्रहरीले कार्यक्रम स्थलबाट पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको उनले बताए ।

उनले घोषणा कार्यक्रम स्थगित भएको भन्दै सबै नेता तथा कार्यकर्तालाई घर फर्किन आग्रह गरेका छन् ।

दुई पार्टी बिचको एकता घोषणा कार्यक्रम राजधानीको प्रज्ञा भवनमा राखिएको थियो ।उनलाई सादा पोसाकका प्रहरीहरूले पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । ‘पहिलेको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेको थियो र सर्वोच्च अदालतको आदेश अनुसार चौधरीलाई पक्राउ गरेका हौँ,’ उनले भने ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए ।

राष्ट्रपतिले दिएको  कैद मिनाहा बदर गर्न टीकापुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।

राष्ट्रपतिले चौधरीलाई  दिएको  कैद मिनाहा सर्वोच्चले बदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्